संचार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रको ध्यानाकर्षण

-



     सफल आवाज    
     जेठ १० गते २०८१ मा प्रकाशित



काठमाडाैं, १० जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा संचार उद्यमी कैलाश सिरोहियाकाे पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाहरूले गम्भिर ध्यानाकर्षण भएको बताएका छन ।

आज संयुक्त बिज्ञप्ती जारी गर्दै कानुनविपरीत काम गरेको प्रमाणित भएमा जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा स्पष्ट भएकाे तर कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने तर्फ गम्भिर ध्यानाकर्षण भएकाे ति संस्थाहरूले बताएका छन ।

विगत देखि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाईको मौका दिनुपर्ने भन्दै आइरहेका बताउदै उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनुपर्छ भन्ने आग्रह गरेका छन।

थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्यलाइ अगाडि बढ्न उनीहरूले आग्रह गरेका छन

मुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि उठि नसकेको अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिनु हुदैन भन्ने अपिल गरेका छन । कुनैपनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न सक्दैन ।

अहिले देशभित्रका साना देखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता भएकाेले उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्न माग समेत गरेका छन ।