सबैको लघुवित्तद्वारा फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर बनाउने तालिम सम्पन्न

-



     सफल आवाज    
     जेठ १० गते २०८१ मा प्रकाशित



काठमाडाैं, १० जेठ। तनहुँ जिल्ला बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले अरुणखोला शाखाका आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर बनाउने तालिम सम्पन्न गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलका अनुसार नवलपरासी जिल्लाको मध्यविन्दू महानगरपालिका–१०, अरुणखोलामा भएकाे उक्त तालिममा बालकृष्ण सापकोटा, पवन कुमार श्रेष्ठ, सृजन पौडेल, जुद्ध बहादुर बूढाथोकीले प्रशिक्षण दिएका थिए ।

ह्याण्ड वाश बनाउन चाहिने सामग्री, ह्याण्डवाश बनाउन चाहिने कच्चा पदार्थहरुको उपलब्धता, मूल्य, ट्वाइलेट क्लिनर बनाउन चाहिने सामग्री, ट्वाइलेट क्लिनर बनाउन चाहिने कच्चा पदार्थको उपलब्धता, मूल्य, फिनेल बनाउन चाहिने सामग्री, फिनेल बनाउन चाहिने कच्चा पदार्थहरुको उपलब्धता, मूल्य, संस्थाले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, वित्तीय साक्षरता आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले बताएका थिए ।

संस्थाले विगत सात वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराएका थिए । मध्यविन्दू नगरपालिका१० का वडाध्यक्ष श्री रण बहादुर थापाले पानसमा दीप प्रज्वलन गरी तालिमको उदघाटन गरेका थिए ।

तालिममा उपस्थित सहभागीहरुलाई सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका सामान्य सेवा विभागका विभागीय प्रमुख श्री रत्न प्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । तालिमको उद्देश्य, महत्व तथा संस्थाको प्रगति विवरण साथै संस्थाले उपलब्ध गराएको वित्तीय सेवाहरु तथा गैर वित्तीय सेवाहरुको बारेमा संस्थामा नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी गराएको थिए ।

नायब महाप्रवन्धक श्रेष्ठले जुन परियोजनाको लागि कर्जा लिएको हो सोही परियोजनामा लगानी गरेमा मात्र फाइदा लिन सकिने हुँदा कर्जा लिएर सदुपयोग गर्ने भएमा मात्र कर्जा लिन र जुनसुकै परियोजना सञ्चालन गरे पनि ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गरी अगाडि बढ्न सुझाएका थिए ।

संस्थाको नयाँमिल मुकामका सुपरीवेक्षण अधिकृत सृजन पौडेलले तालिममा सक्रियतापूर्वक सहभागी भई तालिमलाई ब्यवहारमा उतार्न पहल गर्न अनुरोध गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी मध्यविन्दू नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रणबहादुर थापाले तालिममा सक्रियतापूर्वक सहभागी भई राम्रोसँग सिक्न, तालिमलाई ब्यवहारमा उतारेर फाइदा लिन र फाइदा भएको रकम बचत गर्न सुझाएका थिए ।

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ९७ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ ।

यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आई रहेको छ । संस्थाले २०८१ बैशाख मसान्तसम्ममा ७५ हजार ३२० घरधुरीहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०८१ बैशाख मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. ४ अरब २१ करोड ४७ लाख रहेको छ भने ग्राहक सदस्यहरुको रु. १ अरब १७ करोड ७३ लाख बचत परिचालन गरेको छ ।