आगामी आर्थिक वर्ष २०८१/८२ काे बजेट भाषण आज

-



     सफल आवाज    
     जेठ १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । सरकारले करिब १९ खर्बकाे बजेट ल्याउन लागेकाे अर्थ निकट श्राेतले बताएकाे छ ।

नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

नेपालको संविधान २०७२ को धारा ११९ को व्यवस्थाअनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र सङ्घीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकम खुलाई वार्षिक अनुमान पेस गर्नुपर्ने उल्लेख छ ।

यसरी वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेस गर्नुपर्ने व्यवस्था छ ।

राजस्व र व्ययको अनुमान प्रत्येक जेठ महिनाको १५ गते सङ्घीय संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष करिब १४ खर्ब रुपैयाँसम्म राजस्व संकलन हुने अनुमान गरेकाे छ । यसअनुसार १९ खर्वको बजेटमा अपुग हुने करिब ५ खर्ब रुपैयाँ वैदेशिक अनुदान, ऋण तथा आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न सकिनेछ ।

अर्थमन्त्री वर्षमान पुनले हुलाकी राजमार्ग, निर्माणाधीन मध्यपहाडी राजमार्ग र कर्णाली करिडोर वरपरका क्षेत्रमा नयाँ आर्थिक केन्द्र, कृषि उत्पादनको पकेट एिरया र नयाँ पर्यटकीय गन्तव्य बनाउन बजेट ल्याइने बताइसकेका छन्।

कर प्रणाली सुधार कार्यदलको सुझावलाइ कार्यान्वयन गर्ने गरी व्यक्तिगत करका सीमा, करका दायरामा नरहेकालाइ करकाे दायरामा ल्याउने र राजश्व वृद्धिका स्रोतहरु पत्ता लगाउने विषयहरु बजेटमा राखिएकाे बताइएको छ ।