सांग्रिला बैककाे साइकल र्यालीमा १५ सय जना भन्दा वढिको सहभागिता

-



     सफल आवाज    
     जेठ १९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १९ जेठ। सांग्रिला डेभलपमेन्ट बैकले अायाेजना गरेकाे ‘तेस्रो सांग्रिला साइकल र्याली’ मा १५ सय जना भन्दा वढिले सहभागिता जनाएका छन। विश्व वातावरण दिवसका अवसरमा “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी संघ संस्थाहरुसँगको सहकार्यमा जेठ १९ गते शनिबार उक्त साइकल र्याली सम्पन्न भएकाे हाे ।

बैकका संचालक लिसा शेरचनबाट साइकल र्यालीमा सहभागीहरुलाई वातावरण संरक्षणका सन्दर्भमा सर्वसाधारणको दायित्व विषयमा संवोधन गर्दै साइकल र्यालीको शुभारम्भ गरिएको थियो।

बिहान ७ः४५ बजे सानो गौचरण मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबारमार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुलीबजार पुल कोरिडोर बाटो हुँदै सेतोेपुल, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगेर करिब १० कि. मि. को दुरीको यात्रा सम्पन्न भएको थियो ।

उक्त साइकल र्यालीमा बैंकका संचालक, कर्मचारी, ग्राहकवर्ग, शेयरधनी, प्रवर्धक, प्रायोजक एवं बैकप्रति सद्भाव राख्ने शुभेच्छुकहरु बाक्लो उपस्थिति रहेको थियो । वि.सं २०७९ सालमा १ सय ५० जना सहभागीहरुबाट शुरु भएको साइकल र्याली तेस्रो संस्करणसम्म आइपुग्दा १ हजार ५ सय जना भन्दा वढिको सहभागिता रहेकाे बताइएकाे छ ।

सांग्रिला डेभलपमेन्ट बैकले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रण तथा वातावरण संरक्षणमा टेवा पुर्याउन समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।

वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “Save Fuel, Save Environment ” भन्ने नाराका साथ अगाडि बढेको बैकले यस किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताएका छन ।

सो साइकल र्यालीमा सहभागी सम्पूर्ण सहभागीहरुलाई टिसर्ट प्रदान गरिनुका साथै विभिन्न संस्थाहरुका तर्फबाट उपलब्ध गराइएको उपहारहरु गोलाप्रथा मार्फत उपलब्ध गराइएकाे थियाे । साइकल र्यालीमा सहभागी एक जना भाग्यशाली सहभागी भक्तपुर निवासी रविन रचालिकालाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल समेत प्रदान गरिएको थियो ।

साइकल र्यालीकै दिन पारेर बैंकले ग्रिन सेभिङ्ग नामकाे प्रोडक्ट समेत लन्च गरेको छ । यस किसिमको प्रोडक्टमा जति खाता खोलिन्छ सोही संख्यामा बैंकले वृक्षारोपण गर्ने बताएकाे छ ।

“इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ वातावरण दिवसको पुर्वसन्ध्यामा गरिएको साइकल र्यालीमा सहभागीहरुको उत्साहपूर्वक सहभागीताका लागि धन्यवाद ज्ञापन गर्दैै साइकल र्याली समापन गरिएको प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले बताए ।