बैंक वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा एकैदिन राखे पाैने ४० अर्ब

-



     सफल आवाज    
     जेठ २१ गते २०८१ मा प्रकाशित



काठमाडौं, २१ जेठ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले एकैदिन झण्डै ४० अर्ब रुपैयाँ निक्षेप राखेका छन् । उनीहरूले नेपाल राष्ट्र बैंकमा साे रकम निक्षेप राखेका हुन्।

बैंकिङ प्रणालीमा तरलता धेरै भएपछि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा रूपैयाँ ३९ अर्ब ७५ करोड निक्षेप राखेका हुन् । याे क्रम जारी नै रहेकाे छ । अहिले मानिसहरूले कर्जा लिन मन नगरेका र मन्दिकाे असर कायमै रहेकाेले बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिरहेकाे छ ।

राष्ट्र बैंकले गएकाे फागुन १ गतेदेखि स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएपछि हालसम्म बैंक तथा वित्तीय संस्थाले रूपैयाँ १५ खर्ब ८० अर्ब भन्दा बढी रकम निक्षेप सुविधामा राखेका छन् । 

राषट्र बैंकमा उनीहरूले ३ प्रतिशत ब्याजदरमा निक्षेप राखेका हुन् । बैंकहरुले लगानी गरेर बाँकी रहेको रकम राष्ट्र बैंकमा निक्षेपमा राख्ने व्यवस्था रहेकाे छ । साे रकम राखेकाे चारदिनसम्म झिक्ने अनुमति हुँदैन ।