बलेफी मेलडाँडामा व्यावसायिक सुन्तलाखेती सुरुआत

-



     सफल आवाज    
     जेठ २७ गते २०८१ मा प्रकाशित



सिन्धुपाल्चोक, २७ जेठ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मेलडाँडामा व्यावसायिक सुन्तलाखेती सुरुआत गरिएको छ । एक कार्यक्रमका बीच निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद माधव सापकोटाले सुन्तलाको बिरुवा रोपेर व्यावसायिक सुन्तलाखेतीको सुरुआत गरे।

त्यसअवसरमा सापकोटाले सुन्तलाखेतीबाट आर्थिक अवस्था सुधार र स्थानीयस्तरमा रोजगारी सिर्जना गरी युवाको पलायन रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले मेलडाँडाबाट सुरु भएको नमुना खेतीलाई क्रमशः विस्तार गरेर वडा नं ३ र ४ मा विस्तार गरिनपर्नेमा जोड दिए ।

बलेफी गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङले नगदेबाली र सहकारीको संयोजनमा हुने सामूहिक खेतीका लागि गाउँपालिकाको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि उत्पादनसहित पर्यटन प्रवर्द्धनको उद्देश्य पूरा गर्न प्रदेश एवं सङ्घीय सरकारले सिँचाइ र सहज आवतजावतका लागि सिँडी निर्माण गर्न सहयोग गर्नुपर्ने बताए।

काठमाडौँ विश्वविद्यालयबाट कृषि विज्ञानमा विद्यावारिधि गरिरहेका शोधार्थी गोविन्द पाठकले सुन्तला रोप्ने तरिका र उपचार विधिका विषयमा जानकारी दिए। बलेफी गाउँपालिकाका कृषि अधिकृत सुवास अधिकारीले भूगोल सुहाउँदो भएकाले पालिकालाई पकेट क्षेत्र बनाउन सहयोग गर्ने बताए।

वडा न ४ का अध्यक्ष सुर्जे तामाङले सबै मिलेर व्यावसायिक खेती सफल पार्नुपर्ने धारणा राखे । सहकारी संस्थाका अध्यक्ष हरि तामाङका अनुसार खोकु जातका दुई हजार सुन्तलाका बिरुवा रोपिएका छन् । बलेफी–४ ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत सुन्तला रोप्न खाल्डो खन्ने, पत्कर सङ्कलन र झाडी सुधारको काम गरेको थियो ।