सुदूरपश्चिममा रु साढे ३१ अर्ब र काेशीमा रू ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक

-



     सफल आवाज    
     असार १ गते २०८१ मा प्रकाशित



सुदूरपश्चिम, १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बजेट विनियोजन गरेको छ ।

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालद्वारा प्रस्तुत बजेटमा कूल विनियोजित बजेटमध्ये चालूतर्फ रु ११ अर्ब सात करोड १९ लाख ६३ हजार र पुँजीगततर्फ रु १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार रहेको ल्याइएको जनाइएको छ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत रु दुई अर्ब ९२ करोड ७० लाख १० हजार र वित्तीय व्यवस्थातर्फ रु १० करोड विनियोजन गरिएको छ । विनियोजित कूल बजेटको चालुतर्फ ३५ प्रतिशत, पुँजीगततर्फ ५५ दशमलव ४२, अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत नौ दशमलव २५ र वित्तीय व्यवस्थातर्फ शून्य दशमलव ३१ प्रतिशत हो ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट रु एक अर्ब ६० करोड ७० लाख १५ हजार, राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुमानित रकम रु नौ अर्ब ९९ करोड १९ लाख रहेको छ ।

यसैगरी सङ्घीय रोयल्टी बाँडफाँटवापत प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु आठ अर्ब ७२ करोड २७ लाख, चालु आवको विनियोजनबाट बचत हुने अनुमानित रकम रु छ अर्ब १५ करोड ८३ लाख ५८ हजार, सशर्त अनुदानबाट प्राप्त हुने रु तीन अर्ब १३ करोड ३४ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमानित रु एक अर्ब ४२ करोड र विशेष अनुदानबाट प्राप्त हुने अनुमानित रु ५५ करोड ६० लाख रहेको बजेट वक्तव्यमा उल्लेख छ ।

कोशी प्रदेश : ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक

विराटनगर, १ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ ।

कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ को नियम ११४(१) बमोजिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आवका लागि राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट प्रस्तुत गर्नुभएको हो ।

सार्वजनिक गरिएको बजेटमध्ये चालु खर्चतर्फ रु १४ अर्ब ४७ करोड २३ लाख तथा पुँजीगत खर्चतर्फ रु १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थातर्फ रु दुई करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार अर्ब ५८ करोड ५० लाख विनियोजन गरिएको छ ।

चालु खर्चमध्ये सङ्घीय अनुदान फिर्ता रु तीन अर्ब रहेको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु चार अर्ब ९८ करोड, राजस्व बाँडफाँटबाट रु १२ अर्ब ४० करोड आठ लाख, सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ करोड ९४ लाख रहेकाे छ ।

समपूरक अनुदानबाट रु ६५ करोड ५० लाख तथा विशेष अनुदानबाट रु ७८ करोड एक लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा रु ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोर्ने तथा बाँकी नगद मौज्दातबाट रु तीन अर्ब २५ करोड र वैदेशिक अनुदानबाट रु १० करोड ५९ लाख व्यहोर्ने आज सार्वजनिक गरिएको बजेटमा उल्लेख छ ।