‘स्कोलियोसिस’अर्थात मेरुदण्ड बाङ्गाे हुने समस्या र यसको उपचार

-



     डा विनोद विजुक्छे    
     असार ५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ५ असार। स्कोलियोसिस भनेको मेरुदण्ड बांगो हुने समस्या हो । स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्या धेरै कारणले हुने गर्दछ । याे समस्या धेरैजसो साना बालबालिकाहरुमा देखिन्छ । यो जन्मदेखि नै पनि हुन सक्छ । तर धेरैजसो १० वर्ष उमेर नाघिसकेको बालबालिकाहरुमा यसकाे लक्षण देखिन्छ ।

जन्मजात बाहेक नशासम्बन्धी समस्याको कारण पनि देखिन्छ । यो समस्या हामीले बढी मात्रामा १० देखि २० वर्षसम्मका बालबालिकामा देखिने गरेको पाईन्छ । 

जसलाई हामीले  Idiopathic Adolescent Scoliosis भन्छौं । यसको अर्थ इडियोप्याथिक भनेको अहिलेसम्म कारण के हो भनेर पत्ता लागेको छैन । एडोलोसेन्ट भनेको १० वर्ष पुरा भएका बालबालिकालाई भनिन्छ  ।

छोराहरुको तुलनामा छोरीहरुमा याे राेग बढी मात्रामा देखिन्छ । एक जना छोरामा देखियो भने सातजना छोरीहरुमा यो समस्या देखिने अध्ययनहरूले देखाएकाे छ । 

स्कोलियोसिस राेग कसरी थाहा पाउने ?

यो राेग घरमा बुबाआमाले अथवा स्कुलमा शिक्षक तथा साथीहरुले पत्ता लगाउँछन् । लुगा लगाउँदा नमिल्नु, एउटा कुम माथि अर्को तल देखिनु, एकातिरको ढाडको भाग माथि उठ्नु लगायत यसका लक्षणहरु पर्दछन् । स्कोलियोसिस सजिलै पत्ता लगाउने उपाय भनेको बच्चालाई अगाडि निहुरिन लगाउने र पछाडिबाट हेर्दा एकातिरको ढाड माथि अर्कोतिर तल गएको देखिन्छ । यो छोराहरुमा भन्दा छोरीहरुमा ७ गुणा बढी देखिने गरेको पाईन्छ ।

यसरी स्कोलियोसिसको समस्या देखिएको छ भने अस्पतालमा गएर चिकित्सकको सल्लाह लिन जरुरी छ । यदी मेरुदण्डको भाग बांगो हुँदै गएको अवस्थामा यसले बच्चाहरुको फोक्सोको विकासलाई समेत असर पुर्याउंछ । एउटा स्टेजमा पुगेपछि फोक्सो र मुटुको कामलाई असर पुर्याउने भएकाले यसलाई समयमै पत्ता लगाएर उपचार गर्नु एकदमै जरुरी छ ।

यसको उपचार कसरी गरिन्छ ?

यसको उपचार गर्न कति डिग्री बांगो भएको छ त्यसमा भर पर्छ । हामीले ढाड कति डिग्री बांगो छ भनेर एक्स-रे गरेर हेर्छाै । ढाड बांगो हुने सबै समस्याको शल्यक्रिया मात्र गर्नुपर्छ भन्ने हुँदैन । २५ डिग्रीभन्दा सानो छ भने यसलाई निरीक्षणमा राख्नुपर्छ । यस्तो केश आएमा फलोअपमा राखेर उपचार गर्न सकिन्छ ।

 यदी ढाड बांगो हुने समस्या बढ्दै गएको अवस्था छ र २५ देखि ४० डिग्रीसम्म भएमा पेटी लगाउनु पर्छ । जसलाई हामीले स्पाईनल ब्रेस भन्छौँ । स्पाईनल ब्रेसले बांगोपन हुनबाट रोक्छ । यदी बांगोपना ५० डिग्रीभन्दा माथि गएको छ भने कुनै पनि उमेरमा शल्यक्रिया (अप्रेसन) गर्नु पर्दछ ।

बांगोपनालाई अझै बढ्नबाट रोक्नुपर्छ । यदि रोकिएन भने पछि गएर यसले फोक्सोको विकास र मुटुको कामलाई असर गर्ने गर्छ । स्कोलियोसिसको कारण के हो भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै क्रममा छ । नेपाल सहित विश्वभर यो समस्या देखिएको छ ।

हामीले ग्राण्डी अस्पतालमा वर्षको १५ देखि २० जनाको स्कोलियोसिसका समस्या भएका बालबालिकाको शल्यक्रिया मार्फत उपचार गर्दै आएका छौं। यसको उपचार ढाडको वांगोपना कति डिग्री छ त्यसमा निर्भर रहन्छ । हालसम्म ग्राण्डी अस्पतालले २०० भन्दा बढी विरामीको शल्यक्रिया मार्फत सफल उपचार गरिसकेको छ । नेपालमा पहिलो पटक सन् २००६ शल्यक्रिया मार्फत यसको उपचार सुरु गरिएको थियाे ।

(डा. विजुक्छे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका मेडिकल डाइरेक्टर हुन्। )