नेप्से २.२७ अंकले उकालो लाग्यो, ३ अर्ब ४० करोडको कारोबार

-



     सफल आवाज    
     असार ५ गते २०८१ मा प्रकाशित



काठमाडौं, ५ असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेको उकालोको यात्राले लगानीकर्ताहरु हौसिएका छन् । उनीहरुले अब सेयर बजार सकाराच्मक लयमा जान्छ कि भन्ने आकलन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.२७ अंकले उकालो लाग्दै २०७८.७६ विन्दुमा पुगेको छ । नेप्सेमा ०.१० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५५ अंकले बढेर ३६७.७५ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ६ वटामा हरियो लागेको छ । बाँकी रहेका ७ वटामा रातो लागेको छ । यसदिन कुल ३०८ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ७२ लाख ९ हजार ७५७ कित्ता सेयरको कारोबारबाट ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रुपैयाँ ६४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको २० करोड २३ लाख ३८ हजार १४० रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य बढेको छ । फाइनान्सको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । फाइनान्सको सेयरमूल्य ९.८८ प्रतिशतले घटेको छ ।