काभ्रेमा एग्रोभेट अनुगमन, अधिकांश अव्यवस्थित रूपले सञ्चालन

-



     सफल आवाज    
     असार ६ गते २०८१ मा प्रकाशित



काभ्रेपलाञ्चोक, ६ असार । कृषि तथा पुशपक्षी विकास मन्त्रालयअन्तर्गतको ‘प्लान्ट क्वारेन्टाइन’ तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन ललितपुरद्वारा जिल्लाका सरोकारवाला कार्यालयसँग समन्वय गरी जिल्लास्थित विभिन्न क्षेत्रका एग्रोभेटको अनुगमन भइरहेको छ ।

बीउबिजन, विषादी र कृषि सामग्री बिक्री गर्दै आएका एग्रोभेट पसलको अनुगमन गरिएको हो । हाल पनौती नगरपालिकामा रहेका एग्रोभेट अनुगमनका क्रममा चार वर्षदेखि इजाजतपत्र नै नवीकरण नगरी सञ्चालन गरिएको भेटिएपछि थापा लीलावती एग्रोभेटमा सिल गरिएको जनाइएको छ ।

पनौती–६ नमोबुद्ध रोडको उक्त एग्रोभेटले विषादी खुद्रा बिक्रेता इजाजतपत्र २०७७ माघ १६ गतेदेखि नवीकरण नगरी पसल सञ्चालन गर्दै आइरहेको थियो । एग्रोभेट सञ्चालक प्रभुकृष्ण थापालाई एक हप्ताभित्र केन्द्रमा उपस्थित हुन भई स्पष्टीकरणसहित नियमानुसार लाइसेन्स नवीकरण गरेपछि मात्रै पसल खोल्न दिइने भएको हो ।

सञ्चालक थापाले विषादी खोलेर बेचेकोसमेत पाइएको छ भने विषादीको व्यवस्थापन सही तरिकाले नगरेको भेटिएको केन्द्रका वरिष्ठ वातावरण संरक्षण अधिकृत मनोज पोखरेलले बताए । अर्को श्री लीलावती एग्रोभेट सेन्टर भने अनुगमन टोली आएको थाहा पाएपछि बुधबारदेखि पसल बन्द गरेर सञ्चालक भागेका छन् ।

यस्तै पनौतीका अधिकांश एग्रोभेट सेन्टर अव्यवस्थित ढङ्गले सञ्चालन भइरहेको अनुगमनका क्रममा फेलापरेको पोखरेलले बताए । उनका अनुसार पनौतीको दौतरी एग्रोभेट सेन्टरले भेटेरिनरी र जीवनाशक विषादीसँगै राखेर बेचबिखन गरिरहेको, औषधि सुरक्षात्मक पहिरनको प्रयोग तथा बिक्री नगरी पसल अव्यवस्थित रहेको पाइएको हो ।

पनौचीको सैंँजु एग्रोभेट सेन्टरमा म्याद नाघेको विषादी फेला परेको र सुरक्षात्मक पहिरनको प्रयोग नगरी व्यवस्थापन राम्रो नदेखिएको अनुगमन टोलीले जनाएको छ । मौसम एग्रोभेट सेन्टरमा तालिमप्राप्त व्यक्ति नभेटिएकाले टोलीले सेन्टरको इजाजतपत्र र प्रमाणपत्र लगेको छ ।

अनुगमनमा जिल्लास्थित जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालयको सहभागिता गराएको केन्द्रले यसअघि बनेपा र पाँचखाल नगरका एग्रोभेट सेन्टरको अनुगमन गरेको थियो ।

अनुगमित एग्रोभेटमध्ये अधिकांश अव्यवस्थित रूपमा सञ्चालन गरेको पाइएकाले सचेत गराई व्यवस्थापनका प्रक्रियाबारे जानकारीसमेत गराइने केन्द्रले जनाएको छ । टोलीले जिल्लाको मण्डन, नमोबुद्ध, दोलालघाट, नालालगायतका क्षेत्रमा अनुगमन गर्ने योजना बनाएको छ ।