मध्य कालीगण्डकी जलविद्युत आयोजनामा नबिल बैकसहित ६ बैंकले ११ अर्ब लगानी गर्ने

-



     सफल आवाज    
     असार ९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ९ असार । मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि ६ वटा बैंकहरुले लगानी गर्ने भएका छन् । आईएमई समुहको सहायक कम्पनी हाइड्रो सपोर्ट प्रालीमार्फत म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा साे आयोजना निर्माण गर्न लागिएको हाे ।

नबिल बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेण्ट मेघा, एभरेष्ट, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले लगानी गर्नेछन्। यसका लागि हाइड्रो सपोर्ट प्रालीको तर्फबाट आईएमई समुहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकहरुको तर्फबाट सहवित्तीयकरणको नेतृत्वमा रहेकाे नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरेका थिए । 

याे आयोजनाकाे कूल लगानी १२ अर्ब ९३ करोड रहेकाे छ । यसमा ७५ प्रतिशत बैंक ऋण र बाँकी २५ प्रतिशत निर्माण कम्पनी आईएमई समुह र सर्वसाधारणको लगानी रहनेछ ।

यसमा व्याजसहित नबिलले ३ अर्ब १२ करोड, एभरेष्ट र इन्भेष्टमेण्ट मेगा बैंकले २/२ अर्ब, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले बैंकले १-१ अर्ब लगानी गर्नेछन् । आयोजनाकाे निर्माण यसै वर्षबाट शुरु हुनेछ । निर्माण पूरा गर्ने अवधि ४ वर्ष भनिएकाे छ ।