सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष ’ घोषणा गरिने

-



     सफल आवाज    
     असार १० गते २०८१ मा प्रकाशित



गण्डकी, १० असार । पोखरा महानगरपालिकाले ‘पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्ययोजना’ तयार गर्ने भएको छ । महानगरप्रमुख आचार्यले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन राजधानी पोखराको योजनाबद्ध विकासका लागि कार्ययोजना तयार गरी सङ्घ, प्रदेश र अन्य सरोकारवालाहरूसँगको समन्वय तथा साझेदारीमा कार्यान्वयन गरिने बताए ।

महानगरका ३३ वडाको मौलिकता तथा विशिष्टताको पहिचान, वडाको सम्भावना र अवसरको उपयोग गर्ने गरी ‘एक वडा एक विशिष्ट कार्यक्रम’ अभियान सञ्चालन गरिने पनि उनले बताए। पर्यटन राजधानी पोखरामा पर्यटकीय पूर्वाधार निर्माणमा आवश्यक नीतिगत तथा प्रक्रियागत सुधार गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई सम्भाव्य परियोजनाहरूमा लगानीको लागि प्रोत्साहित गर्न लगानी बैठक आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै, आगामी सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने सङ्घ, प्रदेश सरकार र नीजि क्षेत्रसँग सहकार्य गरी पोखरामा कम्तीमा पन्ध्र लाख पर्यटक भित्र्याउने र निजी क्षेत्रको सहकार्यमा ‘पोखरा सबै मौसमका लागि’ अभियान सञ्चालन गरिने पनि विवरणमा उल्लेख छ । नीति तथा कार्यक्रममा अगाडि भनिएको छ,“पोखराको पर्यटकीय उपजको पार्श्वचित्र निर्माण तथा प्रवर्द्धन, यहाँका प्रमुख पर्यटकीय गन्तव्यहरूको आधिकारिक विवरणसहित महानगर पर्यटकीय गन्तव्य प्रोफाइल तयार गरिने छ ।

प्रमुख पर्यटकीय गन्तव्य पहिचान, विकास तथा प्रवर्द्धन गर्दा छिमेकी नगरपालिका तथा गाउँपालिकाहरूसँग समेत आवश्यकताअनुसार समन्वय गरिने छ । पर्यटन प्रवर्द्धनमा विद्युतीय माध्यमको प्रयोगलाई अधिकतम रूपमा प्रयोग गरिने छ । ”पोखरा महानगरपालिका वडा नं १ स्थित सीमपानीमा कालिगङ्गा तथा सेती गङ्गाको जलसिंचित शालिग्रामसहितको ‘मुक्ति क्षेत्र प्रवेशद्वार’ निर्माण प्रक्रिया अघि बढाइने, हर्पनखोला र फेवातालको सङ्गममा ‘फेवा बिच’ निर्माण गरिने, फेवाताल जाने सडकको सहिद चोकदेखि हल्लनचोक सडकखण्ड र सिद्धार्थ चोकदेखि विन्ध्यवासिनीसम्मको सम्पदा बस्ती क्षेत्रमा वैकल्पिक यातायात व्यवस्थापन गरी क्रमशः पैदलिकरण लागू गर्नेसमेत महानगरको नीति छ ।

पर्यटन राजधानी पोखरा अध्ययन समितिको प्रतिवेदनको आधारमा तत्काल, अल्पकाल तथा दीर्घकालमा गर्नुपर्ने गतिविधिहरूको पहिचान गरी नीतिगत सुधार, पर्यटकीय पूर्वाधार निर्माण तथा निजी क्षेत्रको क्षमता विकास र जवाफदेहिता बढाउँदै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ । फेवातालको किनारमा अवस्थित रत्न मन्दिरको सञ्चालन तथा व्यवस्थापन महानगरले गर्ने व्यवस्थाका लागि नेपाल ट्रष्टको कार्यालयसँग समन्वय गरिने र रत्न मन्दिर तथा परिसरको संरक्षण र प्रवर्द्धन गरी मन्दिरलाई ‘प्यालेस म्युजियम’ का रूपमा विकास गरिने पनि महानगरपालिकाले जनाएको छ ।

पोखराका विभिन्न क्षेत्रमा पहिचान बनाउँदै आएका जेठोबुढो धान, उखु, मह, कफीलगायतका स्थानीय मौलिक उत्पादनको विस्तार, व्यवसायीकरण बजारीकरणमा प्रोत्साहन गरिने भन्दै नीति तथा कार्यक्रममा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनासँगको साझेदारीमा सुन्तला, कागती, मेकाडेमियानट, एभोकार्डो आदि फलफूल खेतीको विस्तार तथा प्रवर्द्धन गरिने प्रमुख आचार्यले जानकारी दिए।

‘दिगो कृषिको आधार प्राङ्गारिक खेतीको विस्तार’ को अभियानअन्तर्गत प्राङ्गारिक पकेट क्षेत्र घोषणा गरी वातावरणमैत्री सहरी कृषिलाई प्रवर्द्धन र किसान परिचयपत्रको आधारमा कृषि अनुदान दिँदा भौचर प्रणाली अवलम्बन गर्ने पनि महानगरको तयारी छ । बाँदरका कारण प्रभावित क्षेत्रमा वैकल्पिक तथा सुरक्षित कृषि बालीको सम्भाव्यता अध्ययन गरी त्यसको सिफारिसका आधारमा बाँदरले मन नपराउने तर किसानलाई फाइदा हुने कृषि बालीको विकास तथा प्रवर्द्धन गरिनुका साथै सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी बाँदर व्यवस्थापनको पहल गरिने महानगरको नीति तथा कार्यक्रम छ ।

“स्थानीय उत्पादनको विकास, विस्तार र प्रवर्द्धनका लागि ‘मेकइन पोखरा मेडइन पोखरा’ लाई प्राथमिकतामा राखिने छ । सहकारी सुशासनमा देखिएको विद्यमान समस्या र चुनौतीको विश्लेषण एवं मूल्याङकन गरी आवश्यक नीतिगत सुधार, अनुगमन र कानुनबमोजिम कारबाहीलाई योजनाबद्ध रूपमा अघि बढाइने छ । रूग्ण सहकारी संस्थाहरूको उत्थानका लागि आवश्यक व्यवस्था गरिने छ”, नीति तथा कार्यक्रममा उल्लेख छ ।

समृद्धिका लागि सरोकारवालाहरूसँग हातेमालो गर्दै अघि बढ्ने नीति अनुरूप विश्व बैंक, एसियाली विकास बैंक, जाइका, कोइका, युएनडिपी, युएसएआइडीलगायत विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँगको आर्थिक तथा प्राविधिक सहयोगमा रणनीतिक महत्वका विभिन्न विकास आयोजनाहरू सञ्चालन भइरहेका तथा सञ्चालनको क्रममा रहेकाले तिनको तप प्रभावकारीताका लागि काम गर्ने महानगरको योजना रहेको छ ।

पोखरालाई स्वच्छ, सफा, हरियाली र सुन्दर सहरका रूपमा विकास गर्न विज्ञहरूको सहयोगमा ‘स्वच्छ सहर हरित सहर’ परियोजनाको प्रारूप तयार गरिएको आचार्यले बताए। “महानगरपालिकामा उद्यम व्यवसाय प्रवर्द्धन तथा रोजगारीका अवसर सृजना गर्न उद्यम क्लिनिक, वृत्ति परामर्श तथा रोजगार मेला, पोखरा आइडिया मार्ट, स्टार्टअप प्रोत्साहन जस्ता नवीनतम कार्यक्रम सम्पन्न गरिएको छ ।

यस अवधिमा विभिन्न विषयमा एक हजारभन्दा बढीलाई व्यावसायिक तथा सीप विकास तालिम प्रदान गरिएको छ”, आचार्यले वक्तव्यमा अगाडि भने। आन्तरिक स्रोतको दिगो परिचालन तथा राजस्व परिचालनका सम्बन्धमा आवश्यक अध्ययन, अनुसन्धान तथा प्रवर्द्धन गर्न, अनुगमन तथा कारबाहीलाई तीव्र बनाउन मौजुदा सङ्गठनात्मक संरचना तथा कार्य पद्धतिमा सुधार गर्न महानगरले आगामी आवमा थप योजनावद्ध काम गर्ने पनि महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

“भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अवलम्बन गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आचारसंहिता कार्यान्वयन, प्रविधिको अधिकतम प्रयोग, अनुगमन, सचेतना अभियान र खरिद लगायतका प्रक्रिया र सेवाप्रवाहमा पारदर्शिता अपनाइने छ । महानगरपालिकामा हुने सार्वजनिक खर्च व्यवस्थापनलाई विधिसम्मत बनाउँदै कूल खर्चमा बेरुजु प्रतिशत घटाउँदै लगिने छ ।

राजस्व परिचालनमा योगदान पुग्ने गरी सम्पत्ति कर, मालपोत र भूमिकरलाई व्यवस्थित गर्न जिआइस ट्रयाकिङ प्रणालीको विकास गरी कार्यान्वयन गरिने छ”, नीति तथा कार्यक्रममा उल्लेख छ,“जनताको जीवनस्तर उठ्ने, स्थानीय बासिन्दाको सहभागिता जुट्ने र स्थानीय स्रोतसाधन तथा सीपको प्रयोग हुने, दिगो विकास र वातावरण संरक्षण तथा संवर्द्धनमा सघाउ पुग्ने आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिइने छ ।

विकास खर्चलाई रोजगारीसँग आबद्ध गर्ने, न्यायिक समितिको क्षमता विकास गर्दै न्याय सम्पादन प्रक्रियालाई थप निष्पक्ष, गुणस्तरीय र विश्वसनीय बनाउँदै लगिने छ ।” एसियाली विकास बैंकको सहयोगमा आगामी आर्थिक वर्षमा साविक लेखनाथ नगरपालिकाको कार्यालय परिसरमा विपद् व्यवस्थापन केन्द्र स्थापना गरिने पनि महानरप्रमुख आचार्यले जानकारी गराए । यस्तै, मितेरी सहरहरुसँगको सम्बन्धलाई थप प्रगाढ र उच्चस्तरको बनाइराख्न महानगरपालिकामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा समन्वय ब्यूरो स्थापना गरिने उल्लेख गर्दै आचार्यले यी शहरहरूमा युवा विद्यार्थी, उद्यमी, व्यवसायी, कलाकार तथा अन्य क्षेत्रका व्यक्तिहरूको भ्रमण तथा अनुभव आदानप्रदानलाई जोड दिइने बताए ।

यसैगरी व्यवसाय प्रवर्द्धन केन्द्रको क्षमता विकास गर्दै स्वरोजगार तथा मर्यादित रोजगारीको अवसर सिर्जना गर्न बजारको माग र आवश्यकतामा आधारित व्यावसायिक तथा सीप विकास तालिम सञ्चालन गरिने, उद्यमशीलता तथा श्रम गर्ने संस्कृतिको विकास गर्दै महिला तथा युवा उद्यमशीलता विकास तथा प्रवर्द्धनमा जोड दिने पनि जनाइएको छ ।

रोयल ट्रेकलाई पुनः रेखाङ्कन गरी विकास तथा प्रवर्द्धन गरिने र ‘लेक टु लेक’, ‘केभ टु केभ’ तथा ‘कोट टु कोट’ पदमार्ग निर्माण सम्बन्धमा आवश्यक अध्ययन गरी प्रतिवेदनको आधारमा कार्यान्वयनको प्रक्रिया अघि बढाइने, रानीपौवा शोभा भगवतीस्थान नजिक रहेको पोखराको पुरानो नगरपालिका कार्यालय भवनलाई पोखरा स्मृति सङ्ग्रहालयको रूपमा विकास गर्ने पनि महानगरको कार्यक्रम छ ।

‘घरदैलोमा स्वास्थ्य सेवा, ज्येष्ठ नागरिकलाई टेवा’ कार्यक्रम सञ्चालन गरी दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरघरमा गई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । बालबालिका, युवादेखि ज्येष्ठ नागरिकको सहभागिता रहने गरी ‘स्वच्छ पोखरा, स्वस्थ पोखरेली’ विशेष अभियान सञ्चालन गरिने, पोखरालाई ‘सदाचार, नैतिकता र अनुशासनको सहर’ का रूपमा विकास गर्दै लग्ने नीति अवलम्बन गरिने आचार्यले उल्लेख गरे ।

पोखरामा साहसिक खेल प्रवर्द्धन गर्दै पोखरालाई खेलकुदको सहर र पोखरा नगरीलाई खेल पर्यटन केन्द्रका रूपमा विकास गर्न सङ्घ, प्रदेश सरकार अन्य विकास साझेदारहरूसँग समन्वय गरिने कार्यक्रममा उल्लेख छ ।

अनुशासन, नैतिकता, सदाचारसहितको जीवनोपयोगी शिक्षा विकासका लागि तदनुरूप स्थानीय पाठ्यक्रम र शैक्षिक सिकाइ पद्धतिमा सुधार गरी कार्यान्वयन गरिने उल्लेख गर्दै महानगरप्रमुख आचार्यले माध्यमिक तहका विद्यार्थीका लागि नियमित रूपमा ‘उद्यमशीलता विकास तथा वृत्ति परामर्श कार्यक्रम’ सञ्चालन गरिने पनि महानगरले आगामी आवको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।