गलत बाटोबाट सही गन्तव्यमा पुगिदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौं: गृहमन्त्री लामिछाने

-



     सफल आवाज    
     असार १२ गते २०८१ मा प्रकाशित



काठमाडौँ, १२ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन । ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का सन्दर्भमा आज गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले लागुऔषधको ओसारपसार र आपूर्तिकर्तालाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिएका हुन ।

सीमित साधन स्रोतबीच सुरक्षा निकायले सम्पादन गरेका कार्य प्रसंशनीय रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले सुरक्षा निकायका लागि पर्याप्त बजेट तथा जनशक्तिको व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताए । गलत बाटोमा हिँडेर सही गन्तव्यमा पुग्न नसकिने बताउँदै उनले लागुऔषध दुव्र्यसनबाट बाहिर निस्केर समाज सुधारकको भूमिका निर्वाह गर्न आग्रह गरे । लागुऔषध दुव्र्यसन नियन्त्रणमा सरकार, समुदाय र आम नागरिकको उत्तिकै भूमिका रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले दुव्र्यसनीमा फसेकालाई सुध्रन मौका दिइने तथा बिक्री वितरणमा संलग्नलाई कडा कारबाही हुने स्पष्ट पारे ।

उनले लागुऔषध दुर्ब्यसनलाई अन्त्य गर्न सरकारले विभिन्न अभियान सञ्चालन गरेको भए पनि दुव्र्यसनीको सङ्ख्या बढ्दै जानुमा कहीँ न कहीँ कमजोरी भएको महसुस गरिएको बताए । लागुऔषधको दलदलमा फसेका व्यक्तिलाई दुव्र्यसनको चक्रबाट मुक्त गरी समाजमा पुनःस्थापना गर्न सुधार केन्द्रको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले पुनःस्थापना केन्द्रले उपचार सेवालाई व्यापार बनाउन नहुनेमा जोड दिए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले लागुऔषधको अवैध ओसारपसार तथा सेवन नेपालका लागि चुनौतीको विषय बनेको उल्लेख गर्दै यसको दुरुपयोगका विरुद्ध लड्न सिङ्गो मुलुक एकताबद्ध हुनुपर्ने बताए । लागुऔषधको अवैध ओसारपसार तथा सेवन अन्त्यका लागि गृह मन्त्रलायसँग समन्वय गरेर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार रहेको उनको भनाइ थियो ।