पर्यटन राजधानीको दायरा फराकिलो हुनुपर्छ : वक्ताहरु

-



     सफल आवाज    
     असार १३ गते २०८१ मा प्रकाशित



गण्डकी, १३ असार । पर्यटन राजधानीको दायरालाई सङ्कुचनमा नराखी फराकिलो बनाउनुपर्नेमा जोड दिइएको छ । आज पोखरामा महानगरपालिका सहरी योजना आयोगको आयोजना एवं ‘युएसएआइडी टि एण्ड सी’को सहयोगमा आयोजित कार्यक्रमका सहभागीले पर्यटन राजधानीको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए ।

पर्यटन राजधानी पोखरामा रणनीतिक कार्ययोजनाको प्रतिवेदन मस्यौदाको प्रस्तुति र सरोकार भएकाबीच छलफलका वक्ताले दायरा फराकिलो बनाउने गरी योजना तयार गर्न सुझाव दिए। कार्ययोजनाको प्रतिवेदन मस्यौदा प्रस्तुत गर्दै डा प्रनिल उपाध्यायले सो सम्बन्धमा सारेकार भएकालाई सुझावका लागि आग्रह गरे ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य भएको बताउँदै यी सम्पदालाई जोगाएर सपनाको सहरका रुपमा विकास गर्न सकिने उल्लेख गरे । पर्यटन राजधानीलाई सङ्कुचनमा नराखी ग्रेटर पोखराको अवधारणाका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए । पोखराको पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गरिएको प्रमुख आचार्यले बताए।

गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशका पूर्वअध्यक्ष बोबरजङ्ग गुरुङले पर्यटन राजधानीको रणनीतिक कार्ययोजना महानगरका ३३ वटा वडामा मात्रै सीमित हुन नहुनेमा जोड दिए। पोखरासहित समग्र प्रदेशमा धेरै पर्यटनकीय गन्तव्यको सम्भावना रहेको बताउँदै उनले ती सम्भावनालाई उजागर गर्न सुझाव दिए ।

गण्डकी प्रदेशमा दामोदर कुण्डजस्ता धेरै धार्मिक पर्यटनका सम्भावनायुक्त क्षेत्र रहेको उल्लेख गर्दै गुरुङले ती क्षेत्रको संरक्षण र प्रवर्द्धनसँगै त्यहाँ जानका लागि सहज वातावरण तयार हुनुपर्ने धारणा राखे। “दामोदर कुण्ड जान १० दिनका लागि पाँच सय डलर अनिवार्य तिर्नुपर्ने व्यवस्था छ”, उनले भने, “सडक सुविधा लगायतका कारण पर्यटकले उक्त अवधि छोट्याउन सक्ने भएकाले १० दिनको अनिवार्यता नगरी प्रतिदिन ५० डलर तिर्न सक्ने गरी व्यवस्था गर्नेतर्फ राज्यको ध्यान पुग्नु जरुरी छ ।”

जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएको अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै गुरुङ सम्पदा पदमार्गको प्रवर्द्धन गरेकामा गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष गुरुङले धन्यवाद ज्ञापन गरे। गुरुङहरूको प्राचीन बस्ती ताङतिङबाट करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलो लेक–थुर्जु–दूध पोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजिएको बताउँदै उनले त्यसलाई पर्यटन राजधानीको रणनीतिक कार्ययोजनामा समेट्न आग्रह गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा भित्रने पर्यटकको यकिन तथ्याङ्क सङ्कलनका लागि नाकानाकामा सूचना केन्द्र राख्नुपर्नेमा जोड दिए। पोखरा महानगरपालिकाका होमस्टे व्यवस्थापन समितिका संयोजक उदय सुवेदीले शाहवंशीय इतिहासको उद्गमस्थल कास्कीकोटबाट कास्की जिल्लाको पनि नामाकरण भएको बताउँदै यस्ता गन्तव्यलाई समेट्नुपर्ने धारणा राखे।

बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले कुनै पनि योजनाको सफलताका लागि सम्बद्ध सबैबीच सहकार्य र एकता जरुरी रहेको बताए। टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पदयात्रा पर्यटनको विकासका लागि पोखरा आसपासका पदमार्गलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। पर्यटन राजधानीको प्रवर्द्धनका लागि पहिलो हिमाल आरोहण भएको दिन ‘अन्नपूर्ण डे’ लाई क्यालेण्डरमा समेटेर जानुपर्ने आवश्यकता उनले औंँल्याए ।

खास्टे न्युरेनी संरक्षण समितिका अध्यक्ष हरि अधिकारीले खास्टे तालमा रहेको ज्येष्ठी तालबाराही मन्दिर तथा त्यहाँ बनाउन लागिएको शिव पार्कलाई धार्मिक पर्यटनसँग जोड्न सकिने बताए। कार्यक्रममा पोखरा र आसपासका फुर्से खोला, सुरौदी खोला, खुदी खोला जस्ता जलसम्पदालाई जलपर्यटनसँग जोड्न सुझाव दिइएको थियो ।

पोखरा महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्ष प्रेमलाल लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोगका सदस्य सुरेन्द्रबाबु तिवारी, युएसएआइडीका प्रतिनिधि, मैदीताल मत्स्य तथा कृषि सहकारीका अध्यक्ष भरतप्रसाद तिवारी, समाजसेवी अशोक पालिखे, वामदेव ढुङ्गानालगायतले आ–आफ्नो धारणा राखेका थिए ।