अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा पर्यटन बोर्ड सक्रिय

-



     सफल आवाज    
     असार १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ असार । नेपाल पर्यटन बोर्ड पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सक्रिय हुन थालेको छ । चालु आर्थिक वर्षको करिब अन्त्यसम्म कुनै पनि अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सहभागी हुन नसकेर आलोचना बेहोरेको बोर्ड पछिल्लो समय केही मुलुकमा पर्यटन प्रवद्र्धनका काममा सहभागी भइरहेको छ ।

अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवार रहेको नेपाल पर्यटन बोर्ड विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि २०७८ पारित नहुँदा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन सकिरहेको थिएन ।

बोर्डको कार्यकारी समितिले गत असोज ६ गते पारित गरेको आर्थिक वर्ष २०८०÷८१ को बजेट तथा कार्यक्रमको निर्देशनमा सार्वजनिक खरिद कार्यालयबाट सहमति प्राप्त गरेपछि मात्र अन्तर्राष्ट्रिय कार्यक्रम कार्यान्वयन गर्ने÷गराउने निर्देशन भएको थियो ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्लो सञ्चालक समितिको निर्णयअनुसार आंशिक रुपमा विदेशमा कार्यक्रमको बाटो खुलेपछि बोर्डले धमाधम प्रवद्र्धनका कार्यक्रम गरिरहेको बताए। उनका अनुसार सार्वजनिक खरिद ऐनले व्यवस्था गरेअनुरुपको कार्यविधि पारित नहुँदा यस आर्थिक वर्षमा कुनै पनि कार्यक्रम हुन सकेका थिएनन्।

बोर्डको सञ्चालक समितिले विदेशमा कार्यक्रम सञ्चालन गर्न परराष्ट्र मन्त्रालयको कार्यविधिलाई आधार मानेर अगाडि बढाउने भनेर निर्णय गरेपछि अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने बाटो खुलेको बोर्डले जनाएको छ । यस वर्ष हालै दुबईमा भएको अरेबियन टाभल मार्ट बाट अन्तर्राष्ट्रिय प्रवद्र्धन सुरु भएको थियो ।

चीनको बेइजिङ र छेन्दुमा नेपाल प्रवद्र्धन गरियो भने पछिल्लो पटक चीनकै ग्वाङजाओ इन्टरनेसनल ट्राभल फेयरमा पनि बोर्डको सहभागिता रह्यो ।

दक्षिण कोरियामा नेपाल डे इभेन्ट गरियो भने थाइल्यान्डको बैङ्ककमा नेपाल सेल्स मिसन सम्पन्न भएको थियो । बोर्डका प्रवक्ता लामिछानेका अनुसार असार अन्तिम हप्ता बङ्गलादेशको ढाकामा सेल्स मिसन आयोजना हुदैछ ।

दक्षिण कोरियामा नेपाल प्रवद्र्धन

यसै सन्दर्भमा बोर्डले हालै दक्षिण कोरियाका दुई सहरमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम गरेको छ । बोर्डले दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावास र कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर्स एसोसिएसन अफ नेपाल (कोट्टान) सँगको सहकार्यमा दक्षिण कोरियाको ग्वान्जु र सियोलमा बीटुबी बैठकसहित नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको हो ।

यही असार ११ र १३ गते भएको कार्यक्रममा एक सयभन्दा बढी कोरियन टुर अपरेटर तथा सञ्चारमाध्यमको सहभागिता रहको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । यस कार्यक्रमअघि नेपाल सेल्स मिसन २०२३ मे मा सियोल र बुसानमा आयोजना गरिएको थियो ।