एनसेलकाे र्यापिड रेस्पोन्स टिमद्वारा काम शुरू

-



     सफल आवाज    
     असार १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ असार । एनसेलकाे र्यापिड रेस्पोन्स टिमद्वारा विपद् पूर्वतयारी र प्रतिकार्यको लागि काम थालिएकाे छ । हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परेपनि छोटो समयमा सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव हुने बताइएकाे छ ।

मनसुनजन्य प्रकोपका कारण दूरसञ्चार सेवामा हुन सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकलाई सधैं अन राखी सम्पर्कमा रही रहन मद्धत गर्ने प्रतिवद्धता बमोजिम एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन समेत गरेको छ ।

टोलीले तदारुकताका साथ काम गरेका कारणले हावाहुरी र भारी वर्षाको असरका बावजुत गत बुधबार कोसी, मधेस र गण्डकी प्रदेशका १५ भन्दा बढी जिल्लाका ११६ मोबाइल टावर सञ्चालनमा असर गरेपनि ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशत भन्दा बढि टावरलाई पुनः सञ्चालनमा ल्याइएको थियो । हावाहुरी र भारी वर्षाका प्रभावका कारण सो दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइभर ब्रेक भएको, रुखहरु र नेपाल विद्युत प्राधिकरणको खम्बा ढलेर विद्युत आपुर्तिमा असर परेको बताइएको छ ।

आरआरटीलाई विशेष रूपमा आपतकालिन अवस्थाहरु सम्हाल्दै सकेसम्म चाँडो सेवाहरू पुनः सुचारु गर्न तालिम दिइएको छ । वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाको द्रुत गतिमा पुनः सञ्चालन र निरन्तरता सुनिश्चित गर्ने उद्धेश्य अनुरुप यी आरआरटीहरु गठन गरिएका हुन् ।

अहिलेको अवस्थामा विशेषगरी भारी वर्षाका कारण सेवा सञ्चालनमा असर पर्न गई केही समयको लागि सेवाहरु अवरुद्ध हुन सक्ने कुरालाई ध्यानमा राख्दै अवरुद्ध भएमा यथासक्य चाँडो सेवा पूनः सञ्चालनमा ल्याउन र्यापिड रेस्पोन्स टोली जिम्मेवार रहने बताइएकाे छ ।

एनसेलले विपद् पुर्वतयारी स्वरुप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न एनसेल प्रतिबद्ध रहेकाे बताएकाे छ ।

विपद्को समयमा विद्युत आपूर्ति अवरुद्ध हुने कुरालाई मध्यनजर गरेर एनसेलले आफ्ना टावरमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको छ । विद्युतको आपूर्तिमा समस्या आएमा ब्याट्रीले ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्ने बताइएकाे छ ।

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएको छ । गत वर्ष मात्र एनसेलले मावन जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पु¥याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो ।