एनआईसी एशिया बैंककाे मास्टरकार्ड जारी गर्ने सेवा शुरू

-



     सफल आवाज    
     असार १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ असार । एनआईसी एशिया बैंकले मास्टरकार्ड जारी गर्ने सेवा शुभारम्भ गरेको छ । बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टर कार्ड जारी गर्ने सेवा शुभारम्भ गरेको बताएकाे छ ।

आज पोखरामा आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ भएको हाे । डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड अब बैंकका सबै शाखा कार्यालयबाट ग्राहकले प्राप्त गर्न सक्ने भएकाे छ ।

यसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक सम्पर्कविहिन प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत ग्राहकले नेपाल, भारत र भुटानबाट एटिएम निकासीको साथमा पिओएस तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सकिनेछ । डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्ड बीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ ।

कार्ड बैंकिङ सेवा प्रदायक, मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको यस बैंकले हालसम्म भिसाकार्डबाट सेवा प्रदान गरिरहेको छ ।

बैकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको जनाइएकाे छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको बताइएकाे छ ।