ग्लोबल आइएमई बैंककाे वित्तीय साक्षरतामा ३५ हजार सहभागि

-



     सफल आवाज    
     असार १७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १७ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । 

बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरूमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको जनाएकाे छ । 

बैंकको कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा ३ हजार ५ सय, मधेशमा २ हजार २ सय, बागमतीमा १५ हजार, गण्डकीमा ५ हजार ५ सय, लुम्बिनीमा ६ हजार, कर्णालीमा ५ सय र सुदूरपश्चिममा दुई हजार ५ सयभन्दा बढी लक्षित वर्गको सहभागिता रहेको थियो । 

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८०–८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना शाखाहरूमार्फत् वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिटेन्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ । 

बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर सञ्चालमा रहेका छन् । त्यस्तै, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको जनाएकाे छ ।