रिलायन्स स्पिनिङ्ग मिल्सले आईपीओ जारी गर्दै, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     असार १९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १९ असार । रिलायन्स स्पिनिङ्ग मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । कम्पनीले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हाे ।

कम्पनीले १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन गर्न लागेको हो। प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा रहेकोमा लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन बुझाउनु पर्नेछ ।

बुक बिल्डिङ्ग प्रणाली मार्फत आवेदन दिएका संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ राखिएकाे थियो। त्यसमा १० प्रतिशत छुट गरेर प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरिएकाे छ ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा ५० कित्ताका आवेदन दिनु पर्नेछ । बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । सेयरमा लगानीकर्ताले साउन १० गतेसम्म आवेदन दिन सक्नेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखायहरुबाठ र ‘मेरो शेयर’ अनलाइनबाट आवेदन दिन पाउनेछन्।

रिलायन्स स्पिनिङ्ग मिल नेपालको धागो उत्पादन गर्ने ठूलो उद्योग हाे । यसकाे उत्पादनको ७५ प्रतिशत बढी भारत, टर्की, भियतनाम, यूके लगायतका देशमा निर्यात गर्दै आएको छ।