उकालो यात्रामा नेप्से, ६ अर्ब ४८ करोडको कारोबार

-



     सफल आवाज    
     असार २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० असार । ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार संचालनका लागि नयाँ समिकरण बनेपछि उकालो लागेको सेयर बजारको यात्राले निरन्तरता पाएको छ ।

साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार पनि नेपाली सेयर बजारमा देखिएको सकारात्मक लयले लगानीकर्तामा उत्साह थपिएको छ भने कुल कारोबार पनि उत्साहजनक भईरहेको छ ।

नयाँ अर्थमन्त्रीमा बजारमैत्री र बजारले रुचाएका पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल नयाँ गठबन्धनबाट सरकारको अर्थमन्त्री बन्ने चर्चा चलेसंगै अर्थ बजार उकालोतर्फ गईरहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्सेमा १५.४६ अंकले बढेर २११९.६९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.८४ अंकले बढेर ३७४.७० विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ११ वटामा हरियो लागेको छ । बाँकी २ वटामा भने रातो लागेको छ । कुल ३१३ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयरको कारोबारबाट ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० पैयाँ ६४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको २९ करोड ६४ लाख ५८ हजार ४५६ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.३७ प्रतिशतले घटेको छ ।