धितोपत्र बोर्डले किन रोक्यो रिलायन्सको आईपीओ ?

-



     सफल आवाज    
     असार २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ असार । नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ प्रणालीमार्फत जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिलको आईपीओ रोकेकाे छ । रिलायन्सको वित्तीय विवरणलाइ आधार मानेर लेखा समितिले उठाएको प्रश्न तथा नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल बक्यौता तिर्न ताकेता गर्दै लाइन कटौती गरिदिएपछि बोर्डले तत्काल आईपीओ जारी प्रक्रिया रोक्ने निर्णय गरेको बताइएकाे छ ।

कंपनीद्वारा प्रकाशित वित्तीय विवरण र विद्युत महशुल बक्यौताका कारण उक्त कम्पनीको आईपीओ विवादमा आएको बताइएकाे छ । सार्वजनिक लेखा समितिले रिलायन्सको आईपीओमा जुन प्रश्न उठाएको छ, त्यो सार्वजनिक चासोको विषय हो ।

लेखा समितिले कम्पनीले तयार पारेको वित्तीय विवरणमा म्यानुपुलेशन भएका कारण यसबाट सर्वसाधारण लगानीकर्ता मारमा पर्ने भन्दै सोको जवाफदेहिताको विषयमा बोर्डमाथि प्रश्न उठाएको छ ।

रिलायन्सले आईपीओ जारी गर्न तयार पारेको वित्तीय विवरण र हाल सार्वजनिक गरेको वित्तीय विवरणमा रिलायन्सले प्रक्षेपण गरेको प्रतिसेयर आम्दानीमा ठूलो अन्तर देखिएपछि लेखा समितिले मंगलबार बोर्डलाई त्यस विषयमा स्पष्टतासहित एक हप्ताभित्र जवाफ पठाउन निर्देशन दिएको थियो ।

रिलायन्सले बुक विल्डिङ प्रणालीमार्फत यसअघि संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री गरेपनि सर्वसाधारणलाई भने यही असार २७ गतेबाट बिक्री खुला गर्दैछ।