पोखरा महानगरपालिकाद्धारा कृषकहरूलाई ६ लाख बढी प्रोत्साहन रकम प्रदान

-



     सफल आवाज    
     श्रावण १ गते २०८१ मा प्रकाशित



पोखरा ३१, असार । पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान गरेको छ । महानगरको वडा नं.२६ र २७ का २२६ जना कृषकहरूलाई नगद रु.६ लाख ८१ हजार ३ सय बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो । उनीहरूलाई एक कार्यक्रमकाबिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गरे। 

प्रोत्साहन रकम प्रदान गर्दै नगर प्रमुख आचार्यले कृषिलाई पोखरा महानगरपालिकाले प्राथमिकतामा राखेको बताए। कृषिको यान्त्रीकरण तथा व्यवसायीकरण, उत्पादकत्व वृद्धि, बाँझो जमिनमा खेतीपाती, विभिन्न बालीहरूको क्लष्टरमा खेती, वडा स्तरमा पकेट कार्यक्रमहरू, कृषक सम्मान तथा प्रोत्साहन, अुनदात र साझेदारी लगायतका कार्यक्रमहरू मार्फत महानगरको कृषि प्रवर्द्धन गरिएको उनले बताए। 

कृषि उपजको बजारीकरणका लागि समेत महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको उनले बताए । निर्वाहमुखी कृषिलाई बिस्तारै व्यवसायीकरणका लागि कृषकहरूसँग महानगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले बताए। पछिल्लो समय पोखरामा चैते धानको उत्पादन राम्रो भएको उल्लेख गर्दै उनले यसप्रति कृषकहरूको आकर्षण समेत बढिरहेको नगरप्रमुख आचार्यले बताए। कृषकहरूलाई प्रदान गरिएको प्रोत्साहन रकमले उनीहरूलाई थप हौसला मिल्ने उनले विश्वास व्यक्त गरे।

पोखरा महानगरपालिका आर्थिक विकास समितिका संयोजक बोध बहादुर कार्कीले कृषकहरूको हौसला अभिवृद्धि गर्दै उद्यमशीलता प्रवर्द्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताए। वडा नं.२७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले महानगरपालिका कृषकहरूको साथैमा रहेको बताए। यस प्रकारका प्रोत्साहन कार्यक्रमहरूले कृषकहरूलाई  पेसा प्रति आकर्षण बढाउने उनले बताए। 

यस वर्ष पोखरा महानगरपालिका वडा नं.२६ मा ४३९ रोपनी र वडा नं.२७ मा ३१८ रोपनी गरी ७५७ रोपनी क्षेत्रफलमा चैते धान लगाइएको छ । सोमबार वडा नं.२६ का १२३ जना कृषकहरूलाई ३ लाख ९५ हजार १ सय र वडा २७ का १०३ जना कृषकहरूलाई २ लाख ८६ हजार २ सय रुपैयाँ प्रोत्साहन प्रदान गरिएको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। उनका अनुसार महानगर क्षेत्रको करिब १ सय हेक्टर क्षेत्रफलमा ५ सय मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान गरिएको छ । 

कार्यक्रममा विभिन्न संघसंस्थाहरुलाई सम्मान गरिएको छ भने, सूचिकृत व्यवसायीक कृषकहरूलाई किसान परिचय पत्र समेत प्रदान गरिएको छ ।