सेयर बजारको उछाल कायमै, १२ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     श्रावण २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ साउन । बजारले रुचाएका अर्थमन्त्रीको पद वहालिपछी सेयरमा उछाल आउने क्रम रोकिएकोे छैन । यसअघि पनि तेश्राे पटकसम्म अर्थमन्त्री हुँदा बजार बुलिङ थियाे ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से परिसूचक ५४.४ अंकले बढेर २३६४.६३ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.३३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १०.२५ अंकले बढेर ४१९.७७ विन्दुमा पुगेको छ ।

१३ वटै उपसमूहहरु सबैमा हरियाली छाएको छ । यसदिन कुल ३०६ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ उनीहरुको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयरको खरिदबिक्रीबाट १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँ ४७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सिंगटी हाइड्रो इनर्जि लिमिटेडको कारोबार भएको छ । कम्पनीको २३ करोड ५५ लाख ८१ हजार ६३७ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड २ को सेयरमूल्य घटेको छ । सो सेयरमूल्य ९.९० प्रतिशतले घटेको छ ।

उसो त कांग्रेस र एमालेबीचको सत्तासमिकरणको चर्चा चलेपछि सेयर बजार उकालोको यात्रामा जान थालेको थियाे । बजारमैत्री मानिएका अर्थमन्त्री विष्णु पौडेलको अर्थमन्त्रीमा पदवहालिपछि सूचकहरु हरियाली संकेतमा देखिएकाे र कारोबार रकम पनि बढी हुन थालेको छ ।

पौडेल २०७२, २०७७, २०७९ मा अर्थमन्त्री बन्दा बुलिङ भएको सेयर बजार उनीपछि आएका अन्य अर्थमन्त्रीहरुको पालामा भने माथि उठ्नै सकेन । अहिले चौथो पटक अर्थमन्त्रीमा रुपमा उनी फेरि आउदा सेयर बजार फेरि उकालो चढिरहेको छ ।