नेप्से २४२४.३२ विन्दुमा उक्लियो, साढे १५ अर्बको कारोबार

-



     सफल आवाज    
     श्रावण ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ साउन । नयाँ गठबन्धनको सरकारका अर्थमन्त्री विष्णु पाैडेलले पदभार ग्रहण गरेपछि उकालो लागेको सेयर बजारको यात्रा यथावत रहेको छ । सूचकहरुका साथै कुल कारोबार रकम पनि बढीरहेको छ ।

साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा ५९.६८ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से परिसूचक २४२४.३२ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.५२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १६.३७ अंकले बढेर ४३६.१४ विन्दुमा पुगेको छ ।

१३ उपसमूहहरुमध्ये दुईवटामा मात्रै रातो लागेको छ । बाँकी रहेका ११ वटामा हरियो लागेको छ । कुल ३१२ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयरको कारोबारबाट १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँ २१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको करोबार भएको छ । कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार ५४ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सेयरमूल्य बढेको छ । बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कुमारी सबल योजनाको सेयरमूल्य घटेको छ । सो योजनाको सेयरमूल्य ५.७६ प्रतिशतले बढेको छ ।

५ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कुमारी बैंक र प्रभु बैंकको सेयरमूल्य साढे ९ प्रतिशत बढी बढेको छ भने सिन्धु विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै ४.५७ प्रतिशतले घटेको छ।