जनताको निराशा हटाउँछौँ : प्रधानमन्त्री ओली (Live)

-



     सफल आवाज    
     श्रावण ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले निराशा चिरेर जनतामा आशा जगाउने सरकार लागिपरेको बताए । “जनतामा उत्साहको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो”, प्रधानमन्त्री ओलीले भने ।

विकास निर्माणको काममा रहेको बेथिति अन्त्य, आर्थिक रुपमा मितव्ययी बन्दै राज्यको तर्फबाट खर्च गर्ने क्षमता वृद्धि तथा जनअपेक्षा अनुसार कानुनमा सुधार गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।

प्रधानमन्त्री ओलीले देशभर बाढी–पहिरोलगायत विपद्को चपेटामा परेकालाई उद्धार तथा राहत उपलब्ध गराउने उल्लेख गर्दै विपद्का घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्दैछन्।

उक्त प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यस्तै, सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने विषय पनि कार्यसूचीमा रहेको छ ।