मदन पुरस्कारका लागि छनोटमा परेका पुस्तकका लेखकलाई प्रधानमन्त्रीको बधाई

-



     सफल आवाज    
     श्रावण ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मदन पुरस्कार २०८०’ का लागि छनोटमा परेका पुस्तकका लेखकलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमा उनले मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा परेका सबै पुस्तकका लेखकलाई बधाई दिँदै पुस्तक पढ्ने बानी बसाल्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले पुरस्कारका लागि छनोटमा परेकामध्ये मुकाम रणमैदान पुस्कक आफूले पढेको र अरु पुस्तक पढ्न बाँकी रहेको बताए ।

“युवा कालदेखि अहिलेसम्म मेरा धेरै बानीमा परिवर्तन आएका छन् । तर पुस्तक पढ्ने बानी भने अहिले पनि यथावत छ । थोरै समय पाउँदा पनि पुस्तक पढ्छु”, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

मदन पुरस्कार गुठीले आज ‘मदन पुरस्कार २०८०’ का लागि भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपी’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ लाई उत्कृष्ट कृतिमा छनोट गरेको छ ।

छनोट भएका पाँचमध्ये सबैभन्दा बढी उत्कृष्ट कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।