कास्की, १९ साउन । पर्यटकीय राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन फेस्टिबल हुने भएको छ ।
पोखरालाई अन्तर्राष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यले बेलुन नेपाल प्रालिले फेवातालको मुहान क्षेत्रमा फेस्टिबल आयोजना गर्न लागेको हो ।
पोखरामा आयोजित कार्यक्रममा प्रालिका अध्यक्ष विक्रम बाडेले अङ्ग्रेजी नयाँ वर्षकाे अवसर पारेर आगामी पुस १४ देखि १८ गतेसम्म फेस्टिबल हुने जानकारी दिए ।
रु छ करोड ५० लाख खर्च हुने अनुमान गरिएको फेस्टिभलले पोखराको पर्यटनमा उत्साह थप्दै शिथिल पर्यटन क्षेत्रलाई माथि उठाउन सफल हुने विश्वास गरिएको उनले बताए।
अध्यक्ष बाडेका अनुसार फेष्टिभलमा विश्वका विभिन्न देशबाट करिब २० देखि २५ वटा बेलुन निर्यात गरिने छन् । नेपाल पर्यटन बोर्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा पर्यटन परिषद्लगायतका सङ्घ संस्थाको सहयोग र सहकार्यमा फेस्टिबल हुने जनाइएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरामा यस प्रकारको महोत्सव आयोजना हुनु खुसीको कुरा भएको बताए। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले फेष्टिबल पोखरा र समग्र गण्डकी प्रदेशका लागि ऐतिहासिक कार्यक्रम हुने धारणा राखे ।
पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख नवीन पोखरेलले फेस्टिभलले पोखरामा पर्यटकको बसाइ अवधि लम्बाउन र नयाँ सम्भाव्यताको खोजी गर्न कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गरे।
बेलुन नेपालका सञ्चालक सविन महर्जनले आफ्नो संस्थाले पोखरामा ‘हट एयर बेलुन’ सञ्चालनमा ल्याइरहेको बताए। बेलुनमा उड्दा माछापुच्छ्रे«, अन्नपूर्णलगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिने उनको भनाइ छ ।