सिटिजन्स बैंककाे नाफामा २७.९७ प्रतिशतले कमी

-



     सफल आवाज    
     श्रावण १९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १९ साउन । सिटिजन्स बैंक लिमिटेडकाे खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। बैंककाे प्रकाशित गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा घटेको देखिएकाे छ।

असार महिनाकाे अन्त्यसम्म बैंकले १ अर्ब ३४ करोड २४ लाख खुद नाफा कमाएकाे छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा २७.९७ प्रतिशतले घटी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशत घटेको छ । खुद फि तथा कमिशन आम्दानी २८.३१ प्रतिशतले र कुल सञ्चालन आम्दानी १.५७ प्रतिशतले बढेको छ।

निष्क्रिय कर्जा ३.९९ प्रतिशत रहेकाेमा बढेर ४.०७ प्रतिशत भएकाे छ । इम्पेरमेन्ट चार्ज १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ७६ करोड भएकाे छ। यसैकाे कारण सञ्चालन नाफा १९.३२ प्रतिशतले र खुद नाफामा २८ प्रतिशतले घटेको हो।

प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६७ पैसा घटेर ९ रुपैयाँ ४५ पैसा कायम भएकाे छ। असारसम्म बैंकले ६१ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३४ पैसा छ। नेटवर्थ १५१ रुपैयाँ ८१ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे २०.४७ गुणा रहेको छ।

बैंककाे चुक्ता पूँजी १४ अर्ब २० करोड रुपैयाँ रहेकाे छ । जगेडा कोषमा ७ अर्ब ३५ करोड ७० रहेकाे छ । बैंकले १ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेकाे छ भने १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।