काठमाडाैं, २३ साउन। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती छिट्टै हुने बताएका छन । अर्थमन्त्री पाैडेलले महिला आर्थिक पत्रकार संघ सँगकाे छलफलमा यस्तो कुरा बताएका हुन्।
अर्थमन्त्री पौडेलले भने – सेबोनको अध्यक्ष नियुक्ति पक्रिया यति कम्प्लिकेटेड हुनु हुँदैनथ्यो। म अर्थमन्त्री भएर आईपुग्दा यो एउटा अन्योलको अवस्थामा गुज्रिएकाे थियो। अब कानुनसम्मत पारदर्शी ढंगले योग्य व्यक्ति अध्यक्षमा नियुक्ति हुन्छ। यत्ति नै समय भन्ने छैन तर छिटो भन्दा छिटो पक्रिया अगाडी बढ्छ।’
पूँजीबजारलाई अर्थतन्त्रको ऐनाको संज्ञा दिँदै उनले सरकार पूँजी बजारको विकासका लागि पारदर्शी र परिपक्क भएर काम गर्ने बताए।
अहिलेकाे बजेटमा निर्धारण गरिएको राजश्वको लक्ष्यलाइ पुरा गर्न कडा मेहनतको आवश्यकता पर्ने बताउँदै अर्थमन्त्री पौडेलले सबै प्रकारका त्रुटि र कमी कमजोरीहरूलाई सच्चाउदै अघि बढ्ने बताए ।
विगतमा राजश्वको लक्ष्य पूरा हुन नसकेको अनुभवले आगामी दिनमा नयाँ लक्ष्य प्राप्त गर्न थप मेहनतको आवश्यकता रहने समेत उनले बताए। अन्तराष्ट्रिय परिस्थिति, क्षेत्रीय तथा राष्ट्रिय परिस्थितिको प्रभाव, र समग्र माग तथा उत्पादनमा आएको न्यूनताको प्रभावले रोजगार र उपभोगमा असर परिरहेको बताउदै आयात-निर्यात र उत्पादनमा कमी आएकोले यसलाई ध्यान दिदैं रोजगारी, उत्पादन, र उत्पादकत्व बढाउन प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिएका थिए।