नेप्सेमा ६.७० अंककाे बृद्धि हुँदा कारोबार २० अर्ब नाघ्याे

-



     सफल आवाज    
     श्रावण २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ साउन । निकै उतारचढाव रहेको सेयर बजारको आजको दृश्य २८ सयको विन्दुमा पुगेर २७ सयको विन्दुमा झरेपनि उकालोको यात्रालाई भने निरन्तरता दिएको छ ।

साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली बजार सामान्य अंकले बढेको हाे । अधिकांश सूचकहरुमा रातो लागेको भएपनि कुल कारोबारको दृश्यले सन्तोष मान्ने ठाउँ भने दिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.७० अंकले बढेर २७६६.३८ विन्दुमा अडिएको छ । नेप्सेमा ०.२४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.२१ अंकले बढेर ४८३.६८ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ६ वटामा हरियो लागेको छ । बाँकी रहेका ७ वटामा रातो लागेको छ । कुल ३२२ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ५ करोड ९ लाख ४६ हजार ८ सय ३२ कित्ता सेयरको कारोबार बाट २० अर्ब ७ करोड ४ लाख ३४ हजार १०३ रुपैयाँ ३८ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम सिमेन्ट्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १ अर्ब २० करोड ९ लाख ९ हजार ७ सय ९६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य बढेको छ । बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ८.०४ प्रतिशतले घटेको छ ।

केहिदिन अघि केही सांसदले संसदमै गएर बजारलाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएकोमा लगानीकर्ताहरु आशंकित भएका छन् । उनीहरुले फेरि बजारलाई पूरानै ओरालाको यात्रा लैजाने गरी मलजल गरेका त होईनन् भनि आशंकित भएका हुन ।

उनीहरूले त्यस्ताे अभिव्यक्ति दिनेलाई कारबाहीकाे माग समेत गरेका छन् । बिगतमा पनि सेयर बजारका बारेमा प्रभावित पार्ने कुरा बाेल्दा २ खर्वकाे नाेक्सानी भएकाेले ती व्यक्तिबाटै असुलउपर गर्नुपर्ने माग राखेका छन् । अन्यथा संघर्ष गर्ने चेतावनी पनि दिएका छन् ।

आज नै सेयर बजारका बारेमा अर्थसमितिको बैठक डाकेर बजार प्रभावित पार्न खोजिएको आशंका गरिएको छ । सांसद सूर्य थापाले बजार सुरु हुनु अघि वा बजार बन्द भएपछि बैठक बसेको भए हुन्थ्यो तर बजार चलिरहेको बेलामा गरिएको बैठक सामान्य नभएको उनको भनाई छ ।

तर पनि अर्थमन्त्री विष्णु पौडेल बजारमा विद्यमान समस्या सुधारका लागि लागिरहेको र लगानीकर्तामैत्री व्यवहार नै हुने बताईरहेको बेलामा केहि सन्तोष गर्ने ठाउँ छ । पूर्व अर्थमन्त्री वर्षमान पुनले पनि बजारमा उछाल आउनु सकारात्मक भएको बताएका छन् ।