बागलुङमा पर्यटक बढेपछि होटलमा लगानी थपिँदै

-



     सफल आवाज    
     श्रावण २७ गते २०८१ मा प्रकाशित



बागलुङ, २७ साउन । शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै होटलमा लगानी बढाएका छन् ।

उनले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ होटलका रूपमा परिचित भएको छ । सानो घरमा चार कोठाबाट व्यवसाय थालेका कुँवरकाे होटलमा अहिले २४ कोठा छन् भने लगानी २ करोड पुगेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका अन्य उद्यमीले पनि सुविधा सम्पन्न होटल सञ्चालन गर्न थालेका छन् । बागलुङ बजारको अस्पताल रोडमा अर्को ३० कोठे होटल सञ्चालनको अन्तिम तयारीमा छ । यो यहाँको सबैभन्दा सुविधासम्पन्न होटल हुने लगानीकर्ताहरूले दाबी गरेका छन् ।

जिल्लामा पर्यटक आउन थालेपछि ठूला होटलको आवश्यकता परेको उद्यमी कुँवर बताउछन् । उनले जिल्लामा तारेहोटल आवश्यक भएको बताए । विसं २०६५ देखि बागलुङमा होटल व्यवसाय गर्दै आउनुभएका अर्जुन चोखालले होटल व्यवसायमा रु चार करोड लगानी गरिसकेका छन् ।

कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, बन्जी पुल, पञ्चकोट, शालग्राम सङ्ग्रहालयजस्ता पर्यटकीय गन्तव्यका कारण यहाँ प्रशस्त मात्रामा स्वदेशी पर्यटक आउने गरेका छन् ।