उद्यमशीलता विकास गर्न निजी क्षेत्रसँग सहकार्य गराैं : महासंघ अध्यक्ष ढकाल

-



     सफल आवाज    
     भाद्र ५ गते २०८१ मा प्रकाशित



काठमाडौं, ५ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमशीलता विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताएका छन । अर्थ मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा संयुक्त राष्ट्र नेपाल (यूएन नेपाल)ले आयोजना गरेको ‘विकासका लागि वित्त संवाद नेपाल रोड टु द समिट अफ द फ्युचर’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ढकालले वैदेशिक प्रत्यक्ष लगानी, राजस्व र वैदेशिक सहायता घट्दै गएको सन्दर्भमा विकासका लागि लगानी परिचालन गर्न सबै तहमा पहल गर्नुपर्नेमा जोड दिए। महासंघले नेपालमा र विदेशमा लगानी प्रवर्द्धन गर्न विशेष कार्यक्रम गर्दै आएको र विदेशी लगानीमा सहयोग गर्न सहजीकरण डेस्क स्थापना गरिएको पनि उनले जानकारी दिए।

उनका अनुसार बजेटमा नै स्टार्टअपका बिषयमा कार्यक्रम राख्न शुरु भएको करिब एक दशक पछि स्टार्ट अप परिभाषित भएको छ । चार महिना अघिमात्रै स्टार्टअपको कानुनी रुपमा परिभाषा आएको छ । लगानी सम्मेलनका समयमा संसोधन भएका आठ कानुन मध्ये एक औद्योगिक व्यवसाय ऐनमा स्टार्ट अपको परिभाषा समावेश भएको उनले बताए ।

उनका अनुसार ऐन र नियमावलीमा यी बिषय समावेश भै सकेपछि सरकारले स्टार्टअपलाई सहायता प्रदान गर्न सहज भएको छ । उत्साही भएर सरकारले यसपटकको बजेटमा एक अर्ब २५ करोड रुपैया स्टार्ट अपलाई अनुदान प्रदान गर्न छुट्याएको छ ।

अब यसको प्रभावकारी कार्यान्वयन हुने र आवश्यकता भएका युवाहरूसम्म यो रकम पुग्ने उनले विश्वास लिएका छन् । यसका लागि हामीले युवाहरुलाई सहायता प्रदान गर्ने इन्कुवेसन वा इनोभेसन केन्द्रहरु स्थापना गर्नुपर्ने बताए । त्यसको सुरुवातका रुपमा महासंघले सुदुर पश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा इन्कुवेसन केन्द्र स्थापना गर्ने प्रक्रिया शुरु भएको छ । म संघीय र प्रदेश सरकारहरुसंग सहकार्य गर्न आग्रह समेत गरेका छन् ।

उनका अनुसार सरकारले निजी क्षेत्रलाई महत्व दिएको हामीले महसुस गरेका छौ । अर्थमन्त्रालयले हालै सार्वजनिक गरेको सय दिनको कार्ययोजनामा महासंघले लामो समयदेखि उठाउँदै आएको उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय पनि छ । यसले अन्तर निकाय समन्वय गरि अल्प, मध्य र दीर्घकालीन महत्वका विषयमा महत्वपूर्ण निर्णय गर्नेछ ।

तीन दिन अघिमात्रै करिब १ सय ७५ सांसद, समिति सभापति र उपप्रधानमन्त्री एवं अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र उर्जा मन्त्रीज्यूको उपस्थितिमा नीतिगत सुधारका लागि आग्रह गरेका सरकारले निजी क्षेत्रलाई काममा अवरोध नहुने प्रतिवद्धता जनाएको  बताए ।