नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी सार्फीको अध्यक्षमा चयन

-



     सफल आवाज    
     भाद्र १९ गते २०८१ मा प्रकाशित



काठमाडौं, १९ भदाै ।  साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुसन इनिसिएटिभ (सार्फी)को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण गरिएकाे छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सार्फीको अध्यक्ष चयन भएका छन् । 

मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी ‘एलाइन्स फर फाइनान्सियल इन्क्लुसन एफआई ग्लोबल पोलिसी फोरम’ को बैठक चलिरहेको छ ।

सो बैठकअन्तर्गत बुधबार आयोजित १५ औं सार्फी लिडर्स राउण्डटेबल’ का क्रममा सार्फीको अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो ।

सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरे ।

बैठकले स्टेट बैंक अफ अफ पाकिस्तान (एसबीपी)लाई सार्फीको उपाध्यक्ष चयन गरेको छ ।

यसअघि सार्फीको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।

सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ‘ग्लोबल पोलिसी फोरम’ को बाह्रौं बैठकका क्रममा सार्फी स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् ।

क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्नेलगायतका उद्देश्यसहित सार्फी स्थापना गरिएको थियो ।