
खोटाङ, १ असोज । पढेलेखेका व्यक्तिले ‘जागिर नै खानुपर्छ’ भन्ने ठान्ने नेपाली समाजमा स्नातकोत्तर गरेको व्यक्तिले गोठाले जीवन बिताइरहेको सुन्दा अनौठो लाग्ने नै भयो ।
कतिपयले त पढेको मान्छेले यस्तो काम पनि गर्छन् भनेर हेयको दृष्टिले पनि हेर्छन् तर केपिलासगढी गाउँपालिका–१ तेराहाका लक्ष्मण साम्पाङ ‘समिप’ लाई त्यसको प्रवाह छैन । उनी पाँच सय बढी भेडाको बथानमै रमाइरहेका छन्।
राजनीतिक शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण साम्पाङले विगत पाँच वर्षदेखि मुन्धुम भेडापालन फार्म दर्ता गरेर व्यावसायिक रुपमा भेडापालन व्यवसायमा रमाइरहेका छन् । हाल उनको फार्ममा पाँच सयजति उन्नत (बडुवाल) जातका भेडासँगै आफ्नो सुन्दर सपना सजाइरहेका छन् ।
दुःखजिलो गरेर स्नातकोत्तर पढाएको छोरा सरकारी जागिरे होस् भन्ने बुबाआमाको चाहनाविपरीत आफू भेडापालन व्यवसायमा लागेको साम्पाङले बताए। “म सानैदेखि स्वतन्त्रतामा रमाउने मान्छे । सरकारी वा अन्य जागिरमा त्यस्तो हुँदैन । राजनीतिशास्त्र पढेको मान्छे राजनीतिमा रुचि हुने नै भयो तर त्यसका लागि आर्थिक अवस्था राम्रो हुनुप¥यो नि! त्यसैले यो व्यवसाय रोजेको हुँ”, उनले भने।
दिक्तेलस्थित सालपा विकास बैंकबाट ऋण लिएर रु २० लाखमा उन्नत जातका एक सय ८० भेडा खरिद गरी व्यवसाय सुरु गरेका उनले हाल वार्षिक करिब रु २० लाख आम्दानी हुने गरेको सुनाए। विसं २०५८ देखि राजनीतिमा समेत सक्रिय ३९ वर्षीय साम्पाङले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राजनीति पनि सँगसँगै अगाडि बढाएको बताए ।
उनले पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को जिल्ला तहदेखि केन्द्रीय सदस्यसम्मको भूमिका निर्वाह गरिसकेका छन् । हाल पार्टीको केपिलासगढी गाउँपालिका कार्यसमिति सचिव हुन्। युवा पुस्तालाई ‘राजनीतिलाई पेसा हैन, सेवा गर्ने माध्यम बनाउनुपर्छ’ भन्ने सन्देश दिन भेडापालन व्यवसाय सुरु गरेको बताउने सम्पाङलाई आफ्नै सहोदर अन्तरे भाइ भैराज साम्पाङले सहयोग गर्दै आएका छन् ।
उनले स्थानीय दुई जनालाई पनि आफ्नो व्यवसायमा जोडेका छन् । “म, भाइ र स्थानीय पृथीराज राई र कल्याण राई पछिल्लो समय यही व्यवसायमा रमाइरहेका छौँ । चारै जनाले पालैपालो लेकबेँसी, भेडीचोकमा बसेर भेडाको हेरचाह गरिरहेका छौँ”, साम्पाङले भने, “हिउँदको समयमा बेँसी क्षेत्रको रावा फाँट तथा स्थानीय बासिन्दाको खेतबारी र वर्षाद्को समयमा लेकाली क्षेत्र मयुङ लगायतका फाँटहरूमा चरनका लागि पुर्याउने गरेका छौँ ।”
चारैजना भेडा फार्ममा हुर्किरहेका भेडाका थुम्बा (साँढ) र पाठापाठीसँगै पर्यटकीयस्थल मयुङ ((झण्डै तीन हजार रोपनी क्षेत्रफलमा फैलिएको) का घाँसे मैदानमा रमाइरहेका भेटिन्छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–१ फेदी, भोजपुरको टेम्केमयुङ गाउँपालिका–१ तिम्मा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङको मनोरम दृष्यले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गर्छ ।
बाह्रै महिना ढकमक्क फुलिरहने विभिन्न प्रजातिका फूल, समथर घाँसे मैदान, प्रयाप्त पानीको स्रोत, जडीबुटी तथा विभिन्न ठाउँको दृष्य देखिने यस ठाउँमा भेडाको बथानले माहोल थप हेर्नलायक हुन्छ । पर्यटकीयस्थल मयुङ समुन्द्री सतहदेखि तीन हजार ३३३ मिटर उचाइमा पर्दछ ।
साम्पाङले भेडाको साँढ, पाठापाठी, मासु, ऊन र घ्यू बिक्रीबाट आम्दानी हुने गरेको बताए। यहाँ भेडाको साँढ रु ५० हजार, मासु प्रतिकेजी रु आठ सय, ऊन प्रतिकेजी रु पाँच सयसम्म र घिउ प्रतिकुरुवा रु चार हजारसम्म बिक्री हुने गरेको उनले सुनाए ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




