५ अर्बको ट्रेजरी बिलकाे आज बोलकबोल

-



     सफल आवाज    
     असाेज ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ असाेज । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज रूपैयाँ ५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दैछ । चालु आर्थिक वर्ष सुरु भएपछि सरकारले नयाँ ट्रेजरी बिलको बोलकबोलबाट रूपैयाँ २५ अर्ब आन्तरिक ऋण उठाइसकेको छ ।

कार्यालयका अनुसार यसदिन ९१ दिनकाे लागि रूपैयाँ ५ अर्ब बराबरको नयाँ ट्रेजरी बिल बोलकबोल हुँदैछ । यसका लागि दिउँसो ३ बजेसम्म अनलाइनबाट सहभागी हुन पाइने छ । यसकाे निष्कासन भाेलि हुनेछ ।

भदौ ३१ गते पनि १८२ दिनकाे ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट २.९९ प्रतिशत कायम भएकाे थियाे । यसाे हुँदा ३६४ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ३.०२ प्रतिशत थियो ।

बैंकमा तरलता थुप्रिएपछि सरकारी ऋणपत्रको ब्याजदर पनि घटेकाे छ । वित्तीय प्रणालीमा तरलता बढेकाे र ब्याजदर कम भएको बेलामा सरकारले आन्तरिक ऋण उठाइरहेकाे छ । 

चालु आर्थिक वर्ष सुरु भएपछि सरकारले ९१ दिने, १८२ दिने र ३६४ दिने अवधिका ट्रेजरी बिलको बोलकबोलबाट रूपैयाँ २५ अर्ब आन्तरिक ऋण उठाइसकेको छ । असोज मसान्तसम्म सरकारले थप १० अर्बको ट्रेजरी बिल जारी गर्ने सूची बनाएकाे छ । 

सरकारले चालु वर्षमा रूपैयाँ ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएकाे छ। रूपैयाँ २ खर्ब १७ अर्ब वैदेशिक ऋण हुनेछ।

यस आर्थिक वर्षमा रूपैयाँ ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य रहेकाेमा भदौ मसान्तसम्ममा रूपैयाँ १ खर्ब ४ अर्ब ५ करोड ऋण आएकाे छ । भदौमा रूपैयाँ ९० अर्ब आन्तरिक ऋण र रूपैयाँ १४ अर्ब ५ करोड बाह्य ऋण आएकाे छ ।