
काठमाडौं, ९ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्ने उल्लेख गरेका छन् ।
जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वद्र्धन गर्न सबै जुट्नुपर्नेमा जोड दिए। साथै उनले संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक देखिएको बताए ।
जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवान्को पूजा आराधना गर्दै मनाइने पर्व हो । यस पर्वका अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन् ।
यस पर्वमा शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ । राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा यस्ता मौलिक चाडपर्वले बेग्लै पहिचान स्थापित गर्दै आएको उल्लेख गरे ।
उनले प्रकृति पूजामा आधारित यसपर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गरे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




