ललितपुरमा ४ जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो

-



     सफल आवाज    
     असाेज १२ गते २०८१ मा प्रकाशित


ललितपुरको इमाडोल र भक्तपुरको बालकोटबीचको गोदावरी खोलामा शनिबार बिहान आएको बाढी डुबानमा परेको क्षेत्र । खोलामा जलसतह बढेपछि दुबैतर्फको बस्तीमा बाढीको पानी पसेपछि जनजीवन प्रभावित बनेको छ। तस्बिर सौजन्य : आदित्येन्द्र झा / रासस


ललितपुर, १२ असोज । अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा २ जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको हाे ।

गोदावरी नगरपालिका–१० का वडध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र आठ वर्षीया बालिकाको मृत्यु भएको छ ।

गोदावरी–३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको जानकारी दिए । उनका अनुसार गोदावरी कुण्ड नजिकैको घर पहिरोको उच्च जोखिममा रहेको छ ।

महाङ्काल गाउँपालिका–३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महाङ्काल–३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले बताए। “वैतर्णीधाम मन्दिर र प्रहरी चौकी बगाएको छ, चौकीका सवारीसाधनसहित तीन वटा घर पनि बगेका छन् । त्यहाँ पाँच जना थिए ।

उनीहरु सम्पर्क छैनन्”, उनले भने। प्रहरीहरु भने सुरक्षित स्थानतर्फ गएको उहाँले बताउनुभयो । बागमती गाउँपालिका–६ आश्राङमा एउटा गोठ बगाउँदा १६ वटा पशुचौपाया बगाएको वडाध्यक्ष नारायण भोम्जनले जानकारी दिए। “हालसम्म मानवीय क्षति भएको छैन”, उनले भने ।

बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ । “बागमती पुलमा क्षति भएको छ, खानीखोला हाइड्रोपावर डुबानमा परेको छ, बागमती ३ नं वडा कार्यालय जोखिममा छ भने वडा नं ५ का रणबहादुर दर्लामीको घर खोलाले बगाएको छ ।”