अदालतद्वारा लामिछानेलाई थप सातदिन हिरासतमा राख्न अनुमति, २ घन्टा बैदाम प्रहरीमा हाेल्ड

-



     सफल आवाज    
     कार्तिक ८ गते २०८१ मा प्रकाशित



गण्डकी, ८ कात्तिक । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले सभापति लामिछानेलाई थप सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आज अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

कात्तिक २ गते पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि यसअघि छ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको अवस्थामा पुनः म्याद थप भएको छ ।

यसैगरी सहकारीको बचत रकम अपचलनकै आरोपमा गत असोज ६ गते पक्राउ परेका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको सूचना अधिकारी अधिकारीले जानकारी दिए।

२ घन्टा बैदाम प्रहरीमा हाेल्ड

यसैबीच, अदालतले लामिछानेलाइ थप सातदिन हिरासतमा राख्न अनुमति दिए लगत्तै लामिछाने र जोशीलाई २ घन्टा वडा प्रहरी कार्यालय बैदाममा राखिएकाे थियाे । रष्ट्र बैंक चाेकमा रास्वपाका कार्यकर्ताले विराेध प्रदर्शन गरिरहेकाे कारण केहि समय हाेल्ड गरिएकाे बताइएकाे छ ।