सम्पदा लघुवित्तका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठलाई कम्पनी सचिवको जिम्मेवारी थपियाे

-



     सफल आवाज    
     मंसिर ११ गते २०८१ मा प्रकाशित




काठमाडौं, ११ मंसिर । तनहुँको बन्दिपुर गाउँपालिका १ डुम्रेमा प्रधान कार्यालय रहेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठलाई कम्पनी सचिवको थप जिम्मेवारी प्रदान गरिएको छ ।

२०८१ मंसिर १० गते सोमबार अपरान्ह बसेको सञ्चालक समितिको १० औं बैठकले नायब महाप्रवन्धक श्रेष्ठलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पाैडेलले बताए ।

श्रेष्ठले यसअघि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा २२ वर्ष काम गरेका थिए । साथै तत्कालीन आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए । बिगत ४ बर्षबाट सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड प्रवेश गरेका उनीसंग लघुवित्त क्षेत्रमा २८ वर्षको कार्य अनुभव रहेको छ ।

साविक सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साविक साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जर भई बनेको नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल ७ वटै प्रदेशका ४५ वटा जिल्लामा १५५ वटा शाखा सञ्जालबाट १,७८,३७८ घरधुरीहरुमा सेवा प्रदान गरिरहेको छ । यस वित्तीय संस्थाले ९ अर्ब ७४ करोड ५७ लाख लगानी र २ अर्ब ४७ करोड बचत परिचालन गरि रहेको छ ।