नेपाल एसबिआई बैंकले साधारण सभा बाेलायाे, १०.६५ प्रतिशत लाभांशको प्रस्ताव

-



     सफल आवाज    
     मंसिर २८ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २८ मंसिर। नेपाल एसबिआई बैंक लिमिटेडले ३१ औं बार्षिक साधारण सभा डाकेको छ । बैककाे हालै बसेको ५२१ औं बाेर्ड बैठकले लाभांश सहित बिभिन्न प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे हो ।  

बैंकले आगामी पुस २१ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने भएकाे छ । साथै बैकले सेयरधनीहरुलाई गत आवको मुनाफाबाट १०.६५ प्रतिशत लाभांशको प्रस्ताव गरेकाे छ। जसमध्ये ६.८५ प्रतिशत नगद र ३.८० प्रतिशत बोनस सेयर रहेको जनाइएकाे छ । याे मुनाफा ३१ औं बार्षिक साधारण सभाबाट पारित भएपछि मात्र बितरण गरिनेछ ।  

सभाले आव २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८०/८१ को वार्षिक आर्थिक विवरण र सोही अवधिको नगदप्रवाह विवरण लगायत आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

साेही सभाबाट बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको आव २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण छलफल गरी स्वीकृत गर्ने र बैंकको लेखापरीक्षण समितिले सिफारिस गरे अनुसार आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुने नेपाल एसबिआई बैंक लिमिटेडले बताएकाे छ ।