
काठमाडाैं, १४ पुस । नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान तथा नीति निर्माणका सन्दर्भमा आयोजित विस्तारित बैठक सम्पन्न भएको छ । नवलपुरको गैँडाकोटमा आयोजित बैठकले महासंघलाई थप बलियो र उद्यमी व्यवसायीका समस्या समाधानमा नीति निर्माण तहमा पहल गर्न र बलियो संगठनका रुपमा महासंघलाई विकास गर्ने निर्णय गरेको छ ।
महासंघको विस्तारित बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०७२ सालमा संविधान बनेपछि मात्रै मुलुकमा आर्थिक विकास र समृद्धि प्रमुख एजेण्डा बनेको बताए । उनले संविधान बन्नु अगाडीका २० वर्ष नेपाल द्वन्द, बन्द–हड्ताल र सङ्क्रमणकालमै बिताउनु परेको समेत स्मरण गरेका थिए ।
हामीले १० वर्ष माओवादी द्वन्द्वका नाममा गुमायौँ, त्यसपछिका १० वर्ष संविधान निर्माणका नामको सङ्क्रमणकालमा गुमायौँ,’ महासचिव पोखरेलले भने, ‘त्यतिबेला बन्द हड्ताल हुन्थ्यो, कुन दिन चाहिँ बन्द हड्ताल हुँदैन र आफ्नो काम गरौँ भन्ने सम्मको अवस्था थियो, यसरी हामीले २० वर्षको उर्वर समय त्यसै गुमायौँ ।’
उनले संविधान जारी भएपछि बल्ल संविधानमै राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको आधार तयार गर्ने भनेर लेखिएको र त्यसयता मात्रै आर्थिक विकास र समृद्धि मुलुकको प्रमुख एजेन्डा बनेको बताए ।
महासचिव पोखरेलले थपे, ‘बैंकमा लगानीयोग्य रकम पर्याप्त छ, विदेशी मुद्राको सञ्चिती इतिहासकै उच्च छ, ब्याजदर पनि कम छ, दुई ठूला राजनीति दल मिलेर सरकार बनाएका छन्, तर पनि लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । यसर्थ, अब उद्यम व्यवसायका लागि प्रतिकुलता हटेर गएको छ, अहिले अनुकुल समय छ ।’
उनले कानुनले उद्यम व्यसायका लागि सहजीकरण गर्नुपर्ने बताउँदै वर्तमान सरकारले असजिला कानूनहरु परिमार्जन गर्दै उद्यमी व्यवसायीका लागि सहजीकरण गर्ने विश्वास दिलाए । साथै, प्रधानमन्त्री कार्यालय मातहत रिफर्म युनिट बनाउन लागिएको र यस्तो युनिट सबै मन्त्रालयमा रहने उनले जानकारी पनि दिए ।
कार्यक्रममा दोस्रो सत्रको प्रमुख आतिथ्यता गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले आर्थिक समृद्धि, विकास लगायतका अर्थतन्त्रको विस्तारसँग जोडिएका एजेण्डाको सुरुवात नेकपा एमालेले गरेको र यसको नेतृत्व पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेको बताउँदै अहिले उद्यमी व्यवसायीका गुनासा र अफ्ट्यारा सुन्न सरकार बनेको बताए ।
कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले सरकार र निजी क्षेत्र तथा सरकार र उद्यमी व्यवसायी भनेका सधैंका सहयात्री भएको बताएका छन् । उनले वर्तमान सरकार लगानीमैत्री वातावरण बनाउँदै स्वदेशी तथा विदेशी पूँजीलाई आकर्षित गर्ने अभियानमा रहेको र यसका लागि कानुनमा गर्नुपर्ने सुधारसमेत अघि बढाइसकेको जानकारी दिए । भौतिक पूर्वाधारको विकाससँगै अर्थतन्त्रलाई थप सुधार गर्ने र लगानीलाई आकर्षित गर्दै रोजगारी सिर्जना गर्ने कुरा वर्तमान सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ ।
बैठकमा उद्योग तथा व्यवसायी महासंघकी इन्चार्ज रचना खड्काले उद्यमी व्यवसायीका गुनासा वर्तमान सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गरिन् ।
बैठकमा नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटाले वि.सं. २०१२ देखि नै नेपालको अर्थतन्त्र सुल्टो खुट्टाले हिड्न छोडेको बताए । उनले ऋण लिने क्रम २०१९ तिरबाट सुरु भएको र त्यसयता ऋण तिर्न ऋण लिने क्रम बढेको समेत स्मरण गराए ।








काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण… 




