राष्ट्र बैंकद्वारा बचत तथा ऋण कारोबार गर्ने सहकारीलाई जारी मापदण्डबारे सुझाव माग

-



     सफल आवाज    
     पौष २९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २९ पुस । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूका लागि जारी गरिएको निर्देशन तथा मापदण्डको मस्यौदाका बारेमा सुझाव दिन अनुरोध गरेको छ ।

सहकारी ऐन, २०७४ को दफा ३ बमोजिम स्थापना भएका बचत तथा ऋणकाे काराेबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित गर्न जारी गरिएको निर्देशन तथा मापदण्ड’को मस्यौदा राष्ट्र बैंकले आफ्नो वेवसाइटमा राखेर साे सुझाव माग गरेको जनाएकाे छ ।

मस्यौदामा सदस्यबाट मात्रै निक्षेप संकलन गर्नुपर्ने, प्राथमिक पूँजी कोषको १५ गुणासम्म बचत संकलन गर्न सकिने प्रावधान राखिएकाे छ । साथै संस्थाको कुल सम्पत्तिको पाँच प्रतिशतसम्म वा पुँजी कोषको बढीमा एक सय प्रतिशतसम्म ऋण लिन सक्ने उल्लेख छ। निक्षेप संकलनका लागि ताेकिएकाे कार्यक्षेत्र अनुसार १० लाखदेखि बढीमा ५० लाखसम्म सीमा राखिएकाे छ।

ऋण तथा लगानीमा संस्थाको सदस्य भएको तीन महिना अगाडि ऋण प्रवाह गर्न नपाइने व्यवस्था गरिएकाे छ। नियमित बचत गरिरहेका सदस्यहरूकाे लागि बचत रकमको ५ गुणा वा बढीमा ३ लाख रुपैयाँमा साे मा कम भएकाे बराबरको रकम बिना धितो ऋण दिन पाउने व्यवस्था छ।

सञ्चित नोक्सानीमा नरहेको र निरन्तर ३ वर्षदेखि खुद नाफामा रहेको सहकारी संस्थाले मात्रै प्राथमिक पुँजी कोषको बढीमा २५ प्रतिशत वा जगेडा कोषको बढीमा ५० प्रतिशतसम्म बराबरको मात्रै जग्गा, भवन खरिद गर्न पाइने छ ।