ग्लोबल आइएमई लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

-



     सफल आवाज    
     माघ १७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १७ माघ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य वृद्धि भएकाे छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ३५ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ। यो रकम अघिल्लो आवमा संस्थाले आर्जन गरेको २८ करोड ६३ लाख रुपैयाँको तुलनामा २२.४७ प्रतिशतले बढी हो।  

उता संस्थाको इम्पेयरमेन्ट चार्ज ७३.९२ प्रतिशतले घटेको छ। अघिल्लो आवमा यो रकम १० करोड ५९ लाख रुपैयाँ रहेको थियो । यसको सकारात्मक प्रभाव संस्थाको खुद नाफामा परेको छ । अहिले संस्थाको खुद नाफा १४७.४१ प्रतिशतले बढेको देखिएकाे छ। दोस्रो त्रैमाससम्म संस्थाले ११ करोड ८३ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ।

यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ ४८ करोड ८ लाख रुपैयाँबाट बढेर ६२ करोड १२ लाख रुपैयाँ पुगेको छ। संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह पनि दुवै बढेको छ। निक्षेप संकलन ३ अर्ब ७ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।  

संस्थाको कर्जा प्रवाह ९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ८ करोड ७४ लाख रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात ४.१० प्रतिशत मात्रै रहेकाे बताइएकाे छ।