ट्रम्पले यूएसएडकाे लगानी ‘फ्रड’ भनेपछि अर्थ मन्त्रालयले दियाे यस्ताे जवाफ

-



     सफल आवाज    
     फागुन १२ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १२ फागुन । अर्थ मन्त्रालयले हालैका दिनहरूमा अमेरिकी सहयोग नियोग (USAID) बाट नेपालमा सञ्‍चालन भएका कार्यक्रमहरुको बारेमा विभिन्न सञ्‍चार माध्यम र सामाजिक सञ्‍जालमा आएका समाचार र टिप्पणीहरूका बारेमा ध्यानाकर्षण भएको जनाएकाे छ।  

मन्त्रालयका प्रवक्ता तथा सहसचिव श्यामप्रसाद भण्डारीले साेमबार एक बिज्ञप्ती प्रकाशित गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका कार्यक्रमहरू डिजाइनकाे चरणमा रहेका जनाइएकाे छ । त्यसका लागि अनुदान प्राप्त नभएकाे उल्लेख गरिएकाे छ ।

केहिदिन अघि अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालमा यूएसएडले गरेकाे लगानी ‘फ्रड’ भएको बताएपछि यसका बारेमा निकै चर्चा चलिरहेकाे छ । यसबारेमा अर्थ मन्त्रालयले बिज्ञप्ती मार्फत स्पष्ट पारेकाे छ ।

नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको छ।

अमेरिकी सहयोग नियोग (USAID)बाट नेपालमा सन् १९५१ देखी निरन्तर रुपमा अनुदान सहायता मार्फत विभिन्न कार्यक्रम सञ्‍चालन हुँदै आएको जनाइएकाे छ।

यसैबीच, अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५मा जारी कार्यकारी आदेश बमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत् सञ्‍चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरु ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको छ,” विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रमहरु डिजाइनको क्रममा रहेकोमा राष्ट्रपति ट्रम्पले गरेकाे आदेशबाट कार्यक्रमहरु रोकिएको मन्त्रालयले जनाएकाे छ।

डिजाइनको क्रममा रहेका कार्यक्रमहरुको लागि सम्झौता नभएकाे र कुनै सहयोग पनि प्राप्‍त नभएको अर्थ मन्त्रालयले जनाएकाे छ।