राष्ट्रिय कृषि कम्पनीको पहिलो रणनीतिक बैठक सम्पन्न

-



     सफल आवाज    
     फागुन १३ गते २०८१ मा प्रकाशित



चितवन, १३ फागुन । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले आफ्नो पहिलो रणनीतिक बैठक यही फागुन ११ र १२ गते भरतपुर, चितवनमा सम्पन्न गरेको छ ।

बैठकमा कम्पनीका सञ्चालक समिति सदस्यहरू, व्यवस्थापन टोली र कर्मचारीहरूबीच कम्पनीको सञ्चालनलाई व्यवस्थित ढंगले अघि बढाउने रणनीति तय गर्ने विषयमा छलफल गरिएको छ ।

रुपैयाँ ५० करोड अधिकृत पूँजी रहेको कम्पनीको संचालनलाई व्यवस्थित र प्रभापकारी बनाउने दीर्घकालिन रणनीति तय गर्ने, कम्पनीलाई कृषि क्षेत्रमा आदर्श कम्पनीको रुपमा स्थापित गर्ने र कृषि क्षेत्रमा नेतृत्व विकास गरी नेपालको कृषि क्षेत्रलाई नयाँ दिशा दिने आधार तयार गर्ने मुख्य एजेण्डाहरु रहेका थिए ।

बैठकले कम्पनीका सबै कर्मचारीहरूले आफ्नो तलबको २५ प्रतिशत सामाजिक कार्यका लागि सामाजिक संस्थामार्फत योगदान गर्ने सर्वसम्मत निर्णय गरेको छ । यो निर्णय कम्पनीको सामाजिक उत्तरदायित्व र कृषि क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउने उद्देश्यले गरिएको जनाइएकाे छ ।

यस्तै उत्पादन लागत घटाउने र उपभोक्तालाई प्रत्यक्ष रूपमा महसुस हुने गरी उत्पादनको मूल्य प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखिएको छ । उपभोक्तालाई उच्च गुणस्तरीय कृषि उत्पादनहरू सहज र किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यदे का साथ उत्पादन लागत घटाउने रणनीतिक योजना अघि सारिएको छ ।

बैठकको समापनमा कम्पनीका अध्यक्ष विशाल हुमागाईंले कम्पनीलाई देशको कृषि क्षेत्रमा आदर्श संस्था बनाउने साझा दृष्टिकोणका साथ अगाडि बढेको बताए । उनले व्यवस्थित सञ्चालन, प्रभावकारी नेतृत्व र सामाजिक उत्तरदायित्वका माध्यमबाट कृषि क्षेत्रलाई पुनः परिभाषित गर्न प्रतिबद्ध रहेको बताए । रणनीतिक बैठकका निर्णयहरूले लक्ष्यमा पुग्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनकाे भनाइ थियाे ।

कम्पनीले कृषि क्षेत्रमा दीर्घकालीन र दिगो विकासमा जोड दिँदै सामाजिक प्रभाव, उत्पादन लागतको न्यूनिकरण र कृषि उत्पादनको आपूर्तिलाई सर्वसुलभ बनाउने लगायतका रणनीतिक योजनाहरू अघि सारेको छ ।