सिटिजन्स बैंकका ७९ जना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

-



     सफल आवाज    
     चैत्र १ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १ चैत । सिटिजन्स बैंकका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरिएकाे छ । १८ वर्ष अघि २०६४ साल वैशाख ७ गते ४३ जना कर्मचारीबाट विधिवत बैंकिङ सेवा सुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको हाे ।

आज (चैत्र १) गते बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले अठारौँ वर्ष पुरा गरी उन्नाइसौँ वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा एक महिने बार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ६१ जना र १५ वर्ष सेवा प्रवाह गरेका १८ जना गरि जम्मा ७९ जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका थिए ।

बैंकमा हाल १८ सय कर्मचारीहरु कार्यरत रहेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत, लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताउँदै आगामी दिनमा पनि आफ्नाे तर्फबाट सत प्रतिशत योगदान दिन आग्रह गरे। सोही समारोहमा बैंकले २०८२ सालको क्यालेण्डर पनि सार्वजनिक गरेको थियाे ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन सुबिधा पनि ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।