
खोटाङ, २ वैशाख । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव२०८२’ सुरु भएको छ । विश्वमा लोपोन्मुख वन्यजन्तुमा पर्ने रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले नगरले पर्यटकीयस्थल हुर्लुङमा सोमबारदेखि महोत्सव आयोजना गरेको हो ।
दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिएको महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृतिसँग सम्बन्धित पूजापाठ, झाँकी, रैथाने खानाका परिकार, वेषभूषा, रहनसहन तथा स्थानीय उत्पादन कक्षका रूपमा राखिएका छन् ।
नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरिएको महोत्सवमा रेडपाण्डा तथा थारसम्बन्धी खिचिएका तस्वीर तथा भिडियोहरूसमेत कक्षमा प्रदर्शनका लागि राखिएका छन् । नगरपालिकाको आयोजनामा सबै जातजातिको सहभागिता हुनेगरी महोत्सवको आयोजना गरिएकाले स्थानीय उत्साहित भएका छन् । महोत्सवमा राखिएका कक्षहरू स्थानीयवासीले आफ्नै लगानीमा राखेका छन् भने संस्कार–संस्कृति झल्कने झाँकी प्रदर्शनमा स्वतःस्फूर्त सहभागी भएका नगर कार्यालयले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राई, अर्थशास्त्री हरि रोका, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्थानीय प्रशासनका प्रमुख तथा प्रतिनिधि, चर्चित नायक दयाहाङ राई, रेडपाण्डा तथा थारका अनुसन्धानकर्तालगायत व्यक्तिको उपस्थिति थियो । महोत्सवको औपचारिक उद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले पानसमा बत्ती बालेर गरे
महोत्सव उद्घाटन कार्यक्रमका वक्ताहरूले पर्यावरणलाई जोगाउँदै पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए। महोत्सवको अवसर पारेर ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ पदमार्गको समेत शुभारम्भ गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। “किराँत उद्गमस्थल तुवाचुङ–जायजुम हुँदै मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङबाट रूपाकोटबाट बगरे भञ्ज्याङ, सिकुरी भञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामकरण गरिएको छ ।
“यो मार्गको औपचारिक शुभारम्भ ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’का सद्भावनादूत एवं अभिनेता दयाहाङ राईले गरे”, उनले भने, “महोत्सवले नगरपालिकाको पर्यटन प्रवर्द्धन तथा नगरवासीको आयस्रोत वृद्धिमा ठूलो टेवा पुग्ने अपेक्षा गरेका छौँ । ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को प्रवर्द्धन तथा विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ ।” मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी खण्डको पर्यटकीयस्थल हुर्लुङमा आयोजित महोत्सवमा हजारौँको सहभागिता रहेको छ ।
जिल्लामा पहिलो पटक हुर्लुङमा आयोजना गरिएको रेडपाण्डा तथा थार महोत्सवमा राखिएका विभिन्न जातजातिको कक्षहरुमा तस्वीर तथा भिडियो खिच्नेको घुइँचो लागेको छ । सरकारले निर्धारण गरेको एक सय वटा पर्यटकीय गन्तव्यमा पर्ने मुन्दुम ट्रेलसँग नगरलाई जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को औपचारिक रूपमा शुभारम्भ गरेको नगर उपप्रमुख विशन राईले जानकारी दिए।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




