‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’

-



     सफल आवाज    
     वैशाख १४ गते २०८२ मा प्रकाशित



काठमाडौं, १४ वैशाख । राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आगामी आर्थिक वर्षको बजेट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्म र भावनाबमोजिम आउनुपर्नेमा जोड दिएका छन् ।

बैठकको विशेष समयमा दलीय आधारमा उनले आगामी आवको बजेटमार्फत जनताका पक्षमा काम गर्न सक्छौँ भन्ने देखाउन सक्नुपर्ने धारणा राखे ।

उनले भने, “प्रधानमन्त्री र अर्थमन्त्रीलाई विशेष आग्रह छ, अब पुरानै ढाँचाको बजेट नल्याउनुहोस्, बजेटमार्फत उत्पादन वृद्धि हुनुपर्‍यो, कृषकले खेतीयोग्य जमिन बाँझो राख्न नपर्ने खालको बजेट ल्याउन जरुरी छ ।” वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएका युवालाई देशभित्रै रोजगारी दिन सक्नेगरी बजेट बनाउनुपर्ने उनले बताए।

“हामी २०७२ सालको संविधानसँगै नयाँ राजनीतिक यात्रामा प्रवेश गरेका हौँ । आन्दोलनपछि गणतन्त्रको घोषणासँगै लामो समय लगाएर संविधान जारी गरेका थियौँ । संविधान सबैको साझा दस्तावेज हो, तर हाम्रो मानसिकता सङ्घीताबमोजिम भएको छैन”, सांसद सिटौलाले भन्नुभयो ।

संविधान नयाँ भए पनि हाम्रो काम गर्ने शैली पुरानै रहेको उनको भनाइ छ । उनले एकले अर्कालाई आरोप लगाउनेभन्दा पनि सबै मिलेर यथाशीघ्र शिक्षा ऐन ल्याउनुपर्ने उनले बताए ।

“लामो समयदेखि शिक्षकहरू सडकमा प्रदर्शनरत छन् । मैले संविधान जारी भएदेखि शिक्षा विधेयकका बारेमा छलफल गर्नुपर्ने भन्दै आएको हुँ, तर अहिलेसम्म पनि ऐन बनाउन सकेका छैनौँ”, सांसद सिटौलाले भने। युवा पलायन रोक्न मुलुकको शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताउँदै रोजगारीका निम्ति देशभित्रै कलकारखाना र उद्योग सञ्चालन गर्नेगरी बजेट ल्याउनुपर्नेमा उनले जोड दिए।

संविधानले दिएका मौलिक अधिकार मात्रै कार्यान्वयन गराउन सकेको खण्डमा जनताका न्यूनतम अधिकार कार्यान्वयन हुने सांसद सिटौलाले उल्लेख गरे । उनले लोकतन्त्रमा सबैलाई आफ्ना माग राख्ने अधिकार भएको उल्लेख गर्दै देश विकासका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए।