जगदुल्ला जलविद्युत आयोजनाको खरिद प्रकिया नियमानुसार नभएको सांसद मोदीकाे आरोप

-



     सफल आवाज    
     वैशाख २५ गते २०८२ मा प्रकाशित



काठमाडौं, २५ वैशाख । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद अमनलाल मोदीले डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रिया नियमानुसार नभएको आरोप लगाउँदै छानविन गर्न माग गरेका छन। उनले भने, “आयोजनाको खरिद प्रक्रियामा कानुन विपरीत काम भएको बुझिएको छ, यसबारेमा छानबिन गर्नुपर्छ ।”

उनले सो जलविद्युत् आयोजनामा सार्वजनिक खरिद ऐन र नियमावली विपरीत काम भएको आरोप समेत लगाउँदै नेपालबाट भएको अवैध पुँजी पलायन रोक्न र विदेश गइसकेको रकम फिर्ता गर्न आवश्यक प्रक्रिया थाल्न माग गरे ।

बैठकमा सांसद विमला सुवेदीले आज कोटेश्वर तिनकुने क्षेत्रमा सार्वजानिक यातायातले ठक्कर दिँदा एक जनाको ज्यान गरेको र तीन जना घाइते भएको जनाउँदै मृतकको परिवारलाई क्षतिपूर्ति र घाइतेलाई सहज स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग गरे।

सरकारले २० वर्ष पुराना सवारीसाधन विस्थापन गर्ने नीति लिएको भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको पनि उनको भनाइ छ । सांसद प्रभु साहले तराईका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले नागरिकलाई दुःख दिन नहुने बताए ।