भारतीय राजदूत श्रीवास्तवद्वारा आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त

-



     सफल आवाज    
     वैशाख २७ गते २०८२ मा प्रकाशित



काठमाडौ, २७ वैशाख । भारतले नेपाल सरकार र यहाँका राजनीतिक पार्टीले भारतको जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरोध गर्दै त्यसका विरुद्धमा चालिएको कदमप्रति एक्यबद्धता जनाएकामा नेपालाई धन्यवाद दिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार लैनचौरस्थित दूतावासमा काठमाडौँस्थित मुलधारका आमसञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट तथा छलफलका क्रममा जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरुद्धमा नेपाल सरकार र समग्र नेपाली जनता उभिएकोमा खुशी व्यक्त गर्दै आतङ्कबादका विरुद्ध समग्र विश्व एक हुनुपर्नेमा जोड दिए।

यसैगरी यहाँका समग्र नागरिक समाज र विशेषगरी आमसञ्चार क्षेत्रबाट प्राप्त सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरे।

काश्मीरको पहलगाममा एक नेपालीसहित २६ जना निर्दाेष मानिसको ज्यान लिनेगरी भएको आतङ्वादी हमला र त्यसपछि विकासित घटनाक्रमका बारेमा जानकारी दिँदै राजदूत श्रीवास्तवले पहलगाम हमलामा पाकिस्तान जिम्मेवार रहेको बताए ।

पाकिस्तानको ‘द रेसिस्टेन्ट फोर्स (टीआरएफ)’ले गत ‘२२ अप्रिल’मा पहलगाममा २६ जना सर्वसाधरण मानिसको ज्यान लिने गरी हमला गरेको बताउँदै उनले त्यसपछि पनि जम्मु–काश्मीर क्षेत्रका सर्वसाधरण जनतासहित धार्मिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका सम्पदालाई लक्षित गरी लगातार आक्रमण गरिहेको र जसरी हुन्छ दुई देशबीच द्वन्द्व चर्काउन खोजिरहेको भनी खेद व्यक्त गरे।

पहलगाम हमलापछि पनि पाकिस्तानले सीमा क्षेत्रमा ड्रोन तथा मिसाइल आक्रमणलाई तीव्रता दिइरहेको, काश्मीर क्षेत्रस्थित ‘लाइन अफ कन्ट्रोल’को भारतीय सेनाका चेकपोष्ट ध्वस्त बनाएको र १६ जना भारतीयको मृत्यु भएको जानकारी दिँदै राजदूत श्रीवास्तवले यसकिसिमको अपूरणीय क्षतिका बावजुद् भारतको तर्फबाट संयमता अपनाइ जवाफी कारवाही मात्र गरेको स्पष्ट गरे।